हृदयाघातबाट बच्न जीवनशैली सुधारौँ

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

अकस्मात् मुटुको नलीमा आउने रक्तसञ्चारको अवरोधले हृदयाघात निम्तिन्छ । यस्तो अवस्थामा मुटुलाई रगत सप्लाई गर्ने नसा साँघुरो हुँदै जाने, जमेको बोसो फुटेर नसा बन्द गराउने, एक्कासि नसाहरू खुम्चिने हुन सक्छ । शरीरमा कुनै पनि ठाउँमा जमेको रगतको डल्ला, क्याल्सियम उछिट्टिएर मुटुको नसा ब्लक गर्न सक्छ । 

मुटुको ठूलो नसा ब्लक भयो भने ठूलै हृदयाघात हुन्छ । कतिपय अवस्थामा मानिसको तत्कालै मृत्यु हुन्छ, औषधि उपचार गर्नसमेत भ्याइँदैन । मुटुको सानो नसा ब्लक भयो भने मुटुको सानो एरियामा मात्र रक्तसञ्चार अवरुद्ध हुन्छ । यसलाई सानो हृदयाघात भनिन्छ । 

कुन नसामा ब्लक भएको छ र कति एरिया त्यसले कभर गर्छ भन्ने कुराले हृदयाघात कति भयावह छ भन्ने निर्धारण गर्छ । यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ । त्यस्तै, स–साना धमनीहरूमा अवरोध हुँदा कहिलेकाहीँ मानिसलाई हृदयाघात भएको थाहा नहुन पनि सक्छ । जीवनशैलीमा सुधार ल्याएर हृदयाघात नियन्त्रण गर्न सकिन्छ ।

लक्षण 
-ठूलो हृदयाघात भएको छ भने छातीको बायाँ भागमा असह्य खालको पीडा हुने हुन्छ । सामान्य खालको हृदयाघात हुँदा छातीको बीच भागमा दुख्ने, श्वास फेर्न गाह्रो हुने हुन्छ । 
-पसिना आउने । 
-वाकवाकी लाग्ने ।
-रिंगटा लाग्ने, बेहोस भएर ढल्नेसम्मको अवस्था आउन सक्छ । 

कसरी थाहा पाउने ?
-लक्षणका आधारमा : असह्य पीडा भयो, बायाँपट्टि विशेषगरी छातीको बीच भागमा चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने भयो भने हृदयाघात भएको हुन सक्छ । 
-इसिजी गरेर हेर्ने । 
-रगतको जाँच, इन्जाइम गर्ने । 
-इको कार्डियोग्राफीको जाँच गर्ने । 

कस्ता व्यक्तिमा देखिन्छ ?
-हृदयाघात जसलाई पनि हुन सक्छ । प्रायः ३५–४० वर्ष उमेरभन्दा माथिका मानिसलाई देखिन्छ । 
-वंशानुगत कारणले पनि हृदयाघात हुन सक्छ । 
-उच्च रक्तचाप, सुगरका बिरामी, शरीरमा कोलेस्ट्रोलको मात्रा बढी भएकाहरू जोखिममा हुन्छन् । 
- धूम्रपान, मद्यपान गर्ने तथा नियमित शारीरिक व्यायाम नगर्ने व्यक्तिहरू जोखिममा हुन्छन् ।

चिसोको असर 
चिसोयाममा हृदयाघातका बिरामी बढ्ने गरेको देखिन्छ । यसको मुख्य कारण भनेको जाडोमा नसाहरू खुम्चने क्रममा मुटुको रक्तनली खुम्चन सक्छ । त्यसमा विशेषगरी पहिलेदेखि औषधि खाइरहेका, उच्च रक्तचापका बिरामी, सुगर, मुटुको कुनै अप्रेसन गरिसकेका, मोटोपना भएका व्यक्ति, धूम्रपान गर्नेहरूलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ । त्यसैले जाडोयाममा चिसोमा बढी बाहिर हिँड्ने, मर्निङवाक गर्ने गर्नुहुँदैन । 

बच्ने केही उपाय 
-शरीरको तौल नियन्त्रण गर्ने । 
-धूम्रपान र मद्यपान नगर्ने । 
-शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्ने । 
-सुगर नियन्त्रण गर्ने । 
-हरियो सागपात, फलफूल बढी खाने । मासुजन्य खाना कम खाने । 
-कार्बोहाइड्रेटयुक्त खाना कम खाने, जस्तै– भात, आलु कम खाने, नुन कम खाने । 
-चिसोबाट जोगिने । 
-कुनै समस्या देखिएमा मुटुरोग विशेषज्ञसँग सम्पर्क गर्नेे । 

सुझावित समाचार