धेरै पहिलादेखि हँसिया-हतौडा र रूख एक बनाइसकेका हौँ : प्रचण्ड

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेन्डा विकास निर्माण र समृद्धि हुने बताएका छन्।
 
आइतबार काठमाडौंमा आयोजित काठमाडौं २ का प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
 
उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे। 

प्रचण्डले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरीमा फस्ने दाबी गरे। 

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरूलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूलाई उनले आग्रह गरे। 

‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेन्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन। स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ,’ उनले भने, ‘म काठमाडौं क्षेत्र नम्बर २ का मतदातालाई के भन्छु भने अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो । त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ। त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ।’

माओवादी र सरकारसँगको शान्ति सम्झौताका वेलामा नेकपा एमालेको नेतृत्व केपी ओलीले गरेकाे भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे। 

प्रचण्डले ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप लगाए। कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया–हतौडा र रूखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। 

‘मैले चिह्नलाई लिएर आग्रह–पूर्वाग्रह हुने गरेको सुनेको छु, हँसिया–हतौडाले रूखमा कसरी भोट हाल्ने ? रूखले कसरी हँसिया–हतौडामा भोट हाल्ने भनेर। हामीले धेरै पहिलादेखि हँसिया–हतौडा र रूखलाई एक बनाइसकेका हौँ,’ उनले भने, ‘०४६ को आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झन्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ। त्यतिवेला रूख र हँसिया–हतौडा एक भएकै हो। जतिवेला शान्ति सम्झौता गर्यौँ, त्यसमा सात राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रूख चिह्नमा छाप लगाएँ, बराबर हो र गिरिजाबाबुले हँसिया–हतौडामा छाप लगाए, बराबर हो।’ 
  

सुझावित समाचार