सत्तागठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलक्षित संयुक्त प्रदेशस्तरीय चुनावीसभा गर्ने भएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार पहिलो चुनावीसभा ४ कात्तिकमा गण्डकी र लुम्बिनी प्रदेशका राजधानीमा हुनेछन् । कास्कीको पोखरामा बिहान ११ बजे तथा रुपन्देहीको बुटवलमा दिउँसो २ बजे सभा हुनेछ । यसको संयोजन कांग्रेसलाई तोकिएको छ ।
५ कात्तिकमा प्रदेश एकको राजधानी विराटनगरमा बिहान ११ बजे, सोही दिन मधेस प्रदेशको राजधानी जनकपुरमा दिउँसो २ बजे सभा हुनेछन् । यसको संयोजन पनि कांग्रेसलाई तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
६ कात्तिकको बिहान ११ बजे सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सभा गर्ने निर्णय सत्तागठबन्धनले गरेको छ । त्यसको जिम्मेवारी माओवादीले पाएको छ । सोही दिन दिउँसो २ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सभा हुनेछ ।
त्यसको समन्वय पनि कांग्रेसको भागमा परेको छ । प्रदेशस्तरीय अन्तिम सभा ७ कात्तिकमा काठमाडौंमा हुनेछ । बिहान ११ बजे हुने सभाको संयोजनको जिम्मा माओवादीले पाएको छ ।