बलात्कारको आरोपपछि जमानतमा रिहा भएका इंग्लिस फुटबलर मासोन ग्रिनउड फेरि पक्राउ परेका छन् । जमानत पाउँदा राखिएका सर्तहरू उल्लंघन गरेको भन्दै उनी पक्राउ परेका हुन् ।
गत जनवरीमा बलात्कार, आक्रमण र हत्याको धम्की दिएको आरोपमा उनी पक्राउ परेका थिए । उनले तीन रात प्रहरी हिरासतमा बिताए । त्यसयता, जमानतमा रिहा भए पनि उनले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडका लागि खेल्न भने पाएका थिएनन् ।
ग्रिनउडविरुद्ध जमानतको सर्तविपरीत बलात्कारको पीडितसँग कुराकानी गर्न खोजेको आरोप छ । ‘२१ वर्षीय पुरुषमाथि आफ्नो जमानतका सर्तहरू उल्लंघन गरेको अभियोग थियो र यस अभियोगलाई ग्रेटर म्यानचेस्टर प्रहरीले नियालिरहेको थियो । १५ अक्टुबर २०२२ मा उनलाई पक्राउ गरिएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिले यस विषयमा सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।
बलात्कारको अभियोगपछि क्लबले ग्रिनउडलाई निलम्बन गरेको थियो । २२ जनवरीयता मैदानमा नदेखिए पनि ग्रिनउडले म्यानचेस्टरबाट पाउने झन्डै ७५ हजार पाउन्ड प्रतिसाता पारिश्रमिक बुझिरहेका छन् ।
यस अभियोगले ग्रिनउडको भविष्यलाई अनिर्णीत बनाएको छ । करिअरको सुरुवातमा उनी निकै उत्कृष्ट देखिएका थिए । उनले म्यानचेस्टर युनाइटेडबाट एक सय २९ खेल खेलिसकेका छन् । त्यस्तै, इंग्ल्यान्डको राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् ।