एस्लीलाई स्विमिङमा तीन स्वर्ण

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

पौडी महिलातर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छिन् । पोखरास्थित फिस्टेल एकेडेमीमा भएको ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा एस्लीले स्वर्ण पदक जितेकी हुन् । एस्लीले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् । यस विधामा आर्मीकी डुवाना लामाले रजत र नेपाल पुलिसकी मेगन गुरुङले कांस्य पदक जितिन् । 

१०० मिटर फ्री स्टाइलमा एस्लीले १ मिनेट २.८४ सेकेन्डको समय निकाल्दा आर्मीकी अनुशिया तन्डुकारले रजत र पुलिसकी मेगनले कांस्य पदक जिते । एस्लीले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६.४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । यस विधामा बागमतीकी आर्जु थापामगरले रजत र प्रदेश १ की उपासना राईले कांस्य पदक जितिन् । 

राष्ट्रिय फुटबल खेलाडी एनआरएनएबाट खेल्न वञ्चित
गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको प्रोटेस्ट सदर भएको छ । बिहीबार भएको खेलमा प्रदेश–१ विरुद्ध एनआरएनएले नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो । यस खेलमा विमल घर्तीमगर र संजोक राईले गोल गरेपछि एनआरएनएले प्रदेश–१ लाई २–० ले पराजित गरेको थियो ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरू विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासलाई नियमविपरीत एनआरएनएबाट खेलाइएको भन्दै प्रदेश १ ले प्रोटेस्ट हालेको थियो । प्रोटेस्ट सदर भएसँगै समूह ‘ए’को बाँकी खेलमा यी खेलाडीले खेल्न पाउनेछैनन् । त्यस्तै, पहिलो खेलको नतिजा पनि उल्ट्याइएको छ । जसअनुसार, प्रदेश १ पहिलो खेलमा ३–० ले विजयी भएको छ । 

गल्फमा बागमतीलाई तीन स्वर्ण
तीन दिनसम्म चलेको गल्फ प्रतियोगितामा बागमती प्रदेशले तीन स्वर्ण पदक जितेको छ । कुल चार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले पनि एक स्वर्ण पदक हात पार्योे । अन्तिम दिन भएको खेलमा आर्मीका सुवास तामाङले स्वर्ण पदक जिते । पोखराको हिमालयन गल्फ कोर्समा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । बागमतीका सद्भावले रजत पदक जित्दा प्रदेश १ का युवराज भुजेलले कांस्य पदक जिते ।

महिलातर्फ बागमतीकी कस्मिरा शाहले स्वर्ण पदक जित्दा बागमतीकै तारा कार्कीले रजत र प्रदेश १ की सुष्मा सिग्देलले कांस्य पदक जितिन् । टिम स्पर्धातर्फ बागमतीले पुरुष र महिला दुवैतर्फ स्वर्ण पदक जित्यो । 

एपिएफको १६ गोल
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा शनिबार तीन खेल सम्पन्न भएको छ । पहिलो खेलमा एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गर्यो । एपिएफको जितमा सावित्रा भण्डारीले पाँच तथा सरु लिम्बूले तीन गोल गरिन् । यस्तै, अनिता केसी र रविना गोलले समान दुई गोल गर्दा गीता राना, सविता रानामगर, प्रीति राई, मनमाया लिम्बूले एक–एक गोल गरे । दोस्रो खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्यो । तेस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७–० ले पराजित गरेको छ । 

प्याराग्लाइडिङमा गण्डकी शीर्ष स्थानमा 
प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रसकन्ट्री पहिलो चरणको खेल सकिँदा गण्डकीले २७५० अंक प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली सेनाले २५५६ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको बागमतीले २१४८ अंक जोडेको छ । चौैथो स्थानमा रहेको एपिएफको १५३३ र पाँचौँ स्थानमा रहेको प्रदेश १ को २७२ अंक रहेको छ । पहिलो दिनको खेल सकिँदा पुरुष एकलतर्फको खेलमा नेपाली सेनाका सुरज थापाले अग्रता लिएका छन् । उनले १ हजार अंक बटुले । दोस्रो स्थानमा ९४८.६ अंकका साथ गण्डकीका विजय गौतम र तेस्रो स्थानमा ९२५ अंकका साथ बागमतीका कृष्णबहादुर सुनुवार रहेका छन् ।

सुझावित समाचार