सिराहाको भगवानपुर–२ नहराका सशस्त्र प्रहरीका असइ सत्यनारायण यादव २० असोजमा मृत फेला परे। उनको शव नेपाल–भारत सीमा क्षेत्रको भारततर्फ बिहारको मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो।
बिहार प्रहरीले शव नांगो अवस्थामा फेला पारेपछि सप्तरी प्रहरीसँग समन्वय गर्यो। त्यसपछि शव यादवको भएको पुष्टि भयो। यादव मधेस प्रदेश सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत थिए।
हत्या भएको आशंकामा अनुसन्धान थालेको सप्तरी प्रहरीले यादवको हत्या तस्करहरूसँगको मिलेमतोमा सशस्त्र प्रहरी बलकै जवान होमबहादुर खत्रीसमेत भइ गरेको देखिएपछि उनलाई समेत पक्राउ गरेको छ। खत्री पनि बिओपी छिन्नमस्तामै कार्यरत थिए।
प्रहरी स्रोतका अनुसार छिन्नमस्ताको मोहनपुर नाकाबाट तस्करी हुने र असई यादव भने तस्करी नियन्त्रणका लागि खटिने गरेकाले तस्करहरूसँग दुश्मनी भएपछि तस्करसँग जवान खत्री मिलेर हत्या गरेको आशंका प्रहरीले गरेको छ। तर, असई यादवको आचरणबारे पनि यसअघि पटकपटक उजुरी आउने गरेको सशस्त्र प्रहरी बलको भनाइ छ। आचरणविपरीत काम गरेपछि यादव पाँच वर्ष बढुवा रोक्का हुने गरी विभागीय कारबाहीमा समेत परेका थिए।
‘घटना रहस्यमय छ। तर, सशस्त्र प्रहरी बलकै जवानको भूमिकासमेत शंकास्पद छ। तस्कर र युवतीको समेत प्रयोग भएकोजस्तो प्रारम्भिक अनुसन्धानले देखाएको छ। हामी अनुसन्धानकै क्रममा छौं,’ सप्तरी प्रहरी स्रोतले भन्यो।
सप्तरी प्रहरीका अनुसार १९ असोजमा असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। जवान खत्रीसमेत उनीसँगै ड्युटीमा थिए। त्यही दिन खत्रीले एक युवतीलाई मोहनपुरमै बोलाएको खुलेको छ। ती युवतीलाई एक युवाले मोटरसाइकलमा मोहनपुर पुर्याएका थिए। युवतीमार्फत तस्कर समूहसहित खत्रीको योजनामा यादवलाई बोलाएर हत्या गरेको अनुमान प्रहरीको छ।
छिन्नमस्ता बिओपी प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ रहँदै आएका थिए। तर, घटनाको भोलिपल्ट बिओपी इन्चार्ज मगरले पिसाबबाट रगत आइरहेको भन्दै सुरुमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भए पनि उनी प्रहरी सोधपुछबाट उम्किन रेफर लिएर विराटनगर हुँदै काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल पुगेका छन्।
छानबिन गर्न गौतम नेतृत्वमा टोली गठन
सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणबारे सशस्त्र प्रहरी बल आफैँले समेत छानबिन थालेको छ। बिहीबार सो विषयबारे छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीनसदस्यीय समिति गठन गरेको छ।
त्यसबाहेक सशस्त्र प्रधान कार्यालयले मंगलबार नै राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार घटनाबारे एसपी खड्कामाथि समेत सोधपुछ भइरहेको छ।
सशस्त्रका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले घटनाबारे समितिले छानबिन थालेकोे बताए। आवश्यक परे समिति स्थलगत छानबिनका लागि सप्तरी जाने पनि उनले बताए।