दलहरू ४ मंसिरको तयारीमा छन् । दिनहुँ भइरहेका राजनीतिक कार्यक्रमले त्यसको झल्को दिन थालेको छ । कञ्चनपुरमा प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका लागि ३० र प्रदेशका लागि ५० उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धन एकातिर छ भने अर्कोतिर, एमाले र राप्रपाको गठबन्धन छ । सत्तागठबन्धनले सबै निर्वाचन क्षेत्रमा मिलेरै उम्मेदवारी दिएको छ । एमाले र राप्रपाबीच भने प्रतिनिधिसभाको तीन नम्बर क्षेत्रमा मात्र तालमेल भएको छ । लोसपा, मौलिक जरोकिलो, कांग्रेस बिपी, नेमकिपालगायत दलबाट ८० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशका लागि मैदानमा उत्रिएका छन् ।
निर्वाचन क्षेत्र १ बाट सत्तागठबन्धनले माओवादीकी विना मगरलाई उठाएको छ । पूर्वमन्त्री मगरको मुख्य प्रतिस्पर्धा एमालेका तारा लामा तामाङबीच हुने अनुमान गरिएको छ । गत स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा पनि यिनै दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । यसअघि ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा विना मगर र प्रदेशमा तारा लामा तामाङ उम्मेदवार थिए र दुवै विजयी पनि भए । तर, यसपटक यी दुई आमनेसामने छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले १८ हजार ६ सय ६३, एमालेले १८ हजार पाँच सय ९९, माओवादीले १५ हजार आठ सय ६१, एकीकृत समाजवादीले तीन हजार चार सय ९८, राप्रपाले दुई हजार एक सय र अन्यले चार हजार ६० मत पाएका थिए ।
निर्वाचन क्षेत्र २ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एनपी साउद र एमालेबाट निवर्तमान सांसद नरबहादुर धामी मुख्य प्रतिस्पर्धी छन् । ०७४ को निर्वाचनमा धामी माओवादी र एमालेको वामगठबन्धनबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । ०७० मा कांग्रेस नेता साउदले एमाले नेता धामी र ०७४ मा एमाले नेता धामीले कांग्रेस नेता साउदलाई पराजित गरेका थिए । अघिल्लो प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धामीले ३३ हजार दुई सय २० ल्याउँदा साउदले २४ हजार आठ सय ३९ मत पाएका थिए ।
गत स्थानीय तह निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा वडाहरूको मत जोड्दा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादीले १३ हजार चार सय ७८, समाजवादीले चार हजार ६ सय ६७, राप्रपाले ३ हजार सात सय ४६, अन्य दलले तीन हजार सात सय ८२ मत ल्याएका थिए ।
निर्वाचन क्षेत्र ३ मा सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता पूर्वमन्त्री रमेश लेखक उम्मेदवार छन् । यहाँ एमाले र राप्रपाको गठबन्धनबाट निवर्तमान सांसद निरुदेवी पाल उठेकी छिन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले–वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टसँग कांग्रेसका उम्मेदवार लेखक जम्मा दुई सय ५७ मतले पराजित भएका थिए । यसपटक कांग्रेसले माओवादी र एकीकृत समाजवादीको साथ पाएको छ । एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा क्षेत्रमा पर्ने वडाहरूका प्राप्त मतअनुसार कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले २२ हजार ५८ मत पाउँदा एमालेले १५ हजार आठ सय १६, माओवादीले सात हजार आठ सय ८३, एकीकृत समाजवादीले दुई हजार पाँच सय, राप्रपाले ६ हजार दुई सय ८० र अन्य दलले दुई हजार चार सय मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा सत्तागठबन्धन बलियो देखिन्छ । बल जनताको कोर्टमा रहेकाले को विजयी हुनेछन् भन्ने यकिन भने अहिले नै गर्न सकिँदैन ।