ब्राजिलमा कोभिड–१९ विरुद्धको संघर्षका क्रममा कम्तीमा चार हजार पाँच सयजनाको ज्यान गएको जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट खुलेको छ । पब्लिक सर्भिस् इन्टरनेसनल (पिएसआई) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा कोभिडको उपचारमा खटेकामध्ये चार हजार ५०० चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको ज्यान गएको पाइएको बताएको छ ।
यो तथ्यांक सन् २०२० को डिसेम्बरदेखि सन् २०२१ डिसेम्बरबीचको हो । यो समय ब्राजिल कोभिड–१९ को एपिसेन्टर बनेको थियो । ज्यान जानेमध्ये एक हजार १८४ जना नर्स रहेका छन् । ब्राजिल कोभिड–१९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसको निधन भएको देश हो ।
यहाँ हालसम्म ६ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गइसकेको छ । पिएसआईले यो तथ्यांकका लागि विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा अनुसन्धान गरेको थियो । साथै उसले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थासँग पनि सहकार्य गरेको बताएको छ ।