प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्री हटाएको भोलिपल्ट जसपा नेतृत्वको मधेस प्रदेशमा सहभागी कांग्रेसका तीन मन्त्री बर्खास्त भएका छन् । प्रधानमन्त्री देउवाको निर्णयको काउन्टरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री राउतले बिहीबार नै कांग्रेसको मधेस प्रदेश संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवलाई फोन गरेर राजीनामा मागेका थिए । तर, शुक्रबार मध्याह्नसम्म पनि कांग्रेसका मन्त्रीहरूको राजीनामा नआएपछि राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
भौतिक पूर्वाधारमन्त्री यादवसहित, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा हटाइएका छन् । मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्री बर्खास्त गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री चलाएका छैनन् ।
बर्खास्तमा परेपछि मन्त्री यादवले मुख्यमन्त्रीसँग मन्त्री बनाउने र हटाउने अधिकार हुने भएकाले आफूले स्वाभाविक लिएको प्रतिक्रिया दिए । ‘बर्खास्त गर्ने अधिकार मुख्यमन्त्रीसँग रहेकाले स्वाभाविक रूपमा लिएको छु,’ उनले भने ।
मुख्यमन्त्रीले बर्खास्त गर्नुअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्रीबीच छलफल भएको थियो । त्यहाँ यादवले केन्द्र सरकारमा एउटै गठबन्धनमा रहेका दलहरू भएकाले एउटै निर्णय गरेर जानुपर्ने धारणा राखेका थिए । ‘शुक्रबार बिहान उहाँहरूसँग छलफल भएको थियो । मैले एउटै गठबन्धनमा छौँ, गठबन्धनको एक घटक दलका मन्त्रीले राजीनामा दिने, अरू सरकारमै बसिरहने हो भने त्यसले निर्वाचनमा कस्तो असर गर्छ ? यसबारे सोच्नुहोला भनेर निस्किएँ ।’