विश्वकै शक्तिशाली भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को निर्वाचन नजिकिइरहेको छ । वर्तमान अध्यक्ष सौरभ गांगुली दोस्रोपटक अध्यक्षमा दाबेदारी दिँदै छन् । तर, उनको दोस्रो कार्यकाल नहुने सम्भावना बढेको छ । यसपटक बोर्डमै रहेका अधिकांश सदस्यले गांगुलीलाई साथ नदिने सम्भावना छ । सन् १९८३ को विश्वकप विजेता टोलीका सदस्य रोजर बिन्नी अध्यक्षमा शतप्रतिशत विजयी हुने अभियानमा अग्रसर देखिएको भारतीय एजेन्सीले जनाएको छ ।
यसै साता विभिन्न राज्यको क्रिकेट संघको निर्वाचनबाट आएका सदस्य बिन्नीकै पक्षमा देखिएका छन् । उनीहरू गांगुलीलाई दोस्रोपटक अध्यक्ष बनाउने अवस्थामा नरहेको जनाएका छन् । राज्यबाट आएका सदस्यहरूले बिन्नीलाई नयाँ अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
बिहीबार भएको बिसिसिआईको बोर्डले गांगुलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल)को अध्यक्ष बन्न प्रस्ताव गरेको छ । तर, गांगुलीले आइपिएलभन्दा बिसिसिआई अध्यक्षका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । यसपटक गांगुलीलाई पश्चिम बंगालको सत्तारूढ तृणमूल कंग्रेसले साथ नदिने भएको छ । कंग्रेसले बिसिसिआईमा बिन्नीकै पक्षमा लबिङ गरेका कारण नै गांगुलीले निरन्तरता नपाउने भएको एजेन्सीले उल्लेख गरेको छ ।