श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट मृत्यु भएकी १९ वर्षीया कविता यादव

दाइजोका कारण हत्या गरिएको माइती पक्षकाे आरोप

महोत्तरीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका- ५ सहोडवानिवासी २१ वर्षीय विमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी उनलाई असोज २० गते जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा बिरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा. सरोज ठाकुरले जानकारी दिए  ।

प्रहरीले विमलेश यादवविरुद्ध सुरुमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।  कविताको मृत्युपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले बताए । आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो ।

माइती पक्षले मृतकको अन्त्येष्टि गरेको छ । जनकपुरस्थित स्वर्गद्वारमा बुधबार अपराह्न मृतकको अन्त्येष्टि गरिएको हो । माइती पक्षले दाइजोको कारण हत्या गरिएको आरोप लगाएकाे छ ।

See More On

सुझावित समाचार