ओलीले मागे गृहमन्त्रीको राजीनामा

नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। 

गैरआवासीय नेपाली संघ २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।

उनले गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। 

उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताए। ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए। 

उनले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्तागठबन्धनलाई चुनौती दिए। ओलीले एनआरएनएजस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गरे।
 
उनले भने, ‘हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन, दुरुपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जो अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो। सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा, कहीँ पनि राष्ट्रपतिसँग सहमत छैन, यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन।’ उनले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धता जनाए। 
 

सुझावित समाचार