मोरङमा जम्मा एघारजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङमा प्रतिनिधिसभातर्फको ६ र प्रदेश सभातर्फको १२ स्थानका लागि चुनावी प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गराएका जम्मा २०७ जनामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार प्रतिनिधिसभातर्फ ३ जना र प्रदेश सभातर्फका ८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन्। मोरङमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउने १०८ जना उम्मेदवारमध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएकोले अब १०५ जना कायम भएका छन्।
प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गराउने ९९ जनामध्ये ८ जनाले फिर्ता लिएकोले ९१ जना उम्मेदवार कायम भएका छन्। उम्मेदवारी फिर्ता गर्नेहरूमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ की स्वतन्त्र उम्मेदवार सुजता थापा, ४ का स्वतन्त्र उम्मेदवार गोकुलप्रसाद पोखरेल र लोसपाका राजुमण्डल राजवंशी छन्। यसैगरी, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ ख बाट स्वतन्त्र उम्मेदवार डिल्लीराम शर्मा अधिकारी, ३ खका स्वतन्त्र उम्मेदवार तिलकप्रसाद राई र कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता गरेका छन्।
डिल्लीराम शर्माले एमालेबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। तिलकप्रसाद राईले माओवादी पार्टीबाट बागी उम्मेदवारी दिएका थिए। यसैगरी, क्षेत्र नम्बर ४ खबाट नेकपा एसका महेश रेग्मी, ५ ख बाट स्वतन्त्र उम्मेदवार भुराज राई, ६ खबाट नेकपा एसका मोहम्मद बसिम आलम र स्वतन्त्र उम्मेदवार जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले पनि उम्मेदवारी फिर्ता गरेका छन्।
अनमलाल, सुनील शर्मा र गुरुराजका बागीले लिएनन् उम्मेदवारी फिर्ता
मोरङको क्षेत्र नम्बर ५ मा एमालेका बागी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले उम्मेदवारी फिर्ता लिएनन्। उनलाई एमालेले उम्मेदवार बनाउने निश्चित गरे पनि जसपासँगको गठबन्धनले गर्दा अन्तिम समयमा उनको टिकट खोसिएको थियो। यसैगरी, एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादवले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइनन्। वसन्तीदेवीले हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी छिन्। यस्तै, मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका सुनील शर्माविरुद्ध बागी स्वतन्त्र उम्मेदवारी दिएका जयराज संयोजक लिम्बू र गणेशप्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएनन्। यता मोरङ ६ खमा कांग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले पनि बागी उम्मेदवार फिर्ता लिएनन्। रेग्मी कांग्रेस प्रदेश १ समिति सदस्य हुन्।
यस्तै, ६ खबाटै कांग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका पुराना कांग्रेस नेता तथा प्रदेश समिति सदस्य जनार्दन निरौलाले पनि आफ्नो उम्मेदवारी कायमै राखेका छन्। यस्तै, मोरङ ४ मा प्रतिनिधिसभामा माओवादीका अनमलालविरुद्ध बागी स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस क्षेत्रीय सभापति नवीन खवास र ४ क मा कांग्रेसका गुरुराज घिमिरेविरुद्ध बागी स्वतन्त्र उम्मेदवार नन्दु सरदारले पनि उम्मेदवारी फिर्ता लिएनन्।
यस्तै, मोरङको २ क मा स्वतन्त्र बागी उम्मेदवारी दिएका कांग्रेसका फणिन्द्र थापा र शमशेर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएनन्। यहाँ सत्तागठबन्धनबाट माओवादीका गणेश उप्रेती प्रदेश सभाको उम्मेदवार छन्।