नेतृत्वबाट प्रतिनिधिसभा निर्वाचनमा टिकटमा विभेद गरिएका एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीमाथि पुनः कटाक्ष गरेका छन्? सामाजिक सञ्जालमार्फत ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले पाल्यो? भन्ने प्रश्न गर्दै रावलले आज कटाक्ष गरेका हुन्।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। ‘हरियो सर्प’ भनेको पनि आयो। ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदै छ भन्ने पनि स्पष्ट गर्ने कि?’
ओलीले पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा साहले ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भन्ने टिप्पणी गरेका थिए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका साहले पार्टीले टिकट दिँदादिँदै पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि ओलीको त्यस्तो प्रतिक्रिया आएको थियो।
ओलीले अन्तिम समयमा जसपासँग चुनावी तालमेल गर्ने लिखित सम्झौता गरेपछि साह रुष्ट थिए। यही सन्दर्भमा ओलीको टिप्पणीमाथि रावलले आज कटाक्ष गरेका हुन्।