‘मुड फ्रेस’ बनाउने आन्तरिक गन्तव्य

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

यो सिजन घुम्नका लागि निकै राम्रो मानिन्छ । दसैँ–तिहारबीचको अवधिमा ठूलो संख्यामा आन्तरिक पर्यटकले घुमघाम रोज्छन् । कामबाट केही फुर्सद मिल्ने भएकाले उनीहरूले घुमघामको योजना बनाउने गर्छन् । यस्तै, यही समयमा विदेशी पर्यटक पनि घुमघामका लागि नेपाल आउँछन् । धेरै जाडो पनि भइसकेको हुँदैन, धेरै गर्मी पनि हुँदैन । नेपालमा घुम्नका लागि सयौँ गन्तव्य छन् । जो आकर्षक मात्र होइन, पुग्नका लागि सहज पनि छन् । र, त्यहाँ खाने र बस्ने सुविधा पनि राम्रो छ । 

मणिराज लामिछाने, निर्देशक नेपाल पर्यटन बोर्ड

रारा 
मुगुको जिल्लामा समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ । तालसँगै जंगल र आसपासका मनोरम दृश्य यहाँको आकर्षण हो । एक हप्ताको समय रारा तालको घुमघामका लागि पर्याप्त हुन सक्छ । 

खप्तड 
खप्तड क्षेत्रको प्रमुख विशेषता विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल हुन् । फूल फुलेका फाँटमा प्रकृतिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटि, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल छन् । काठमाडौंबाट यहाँको यात्राका लागि १० दिनको समय छुट्याउँदा उपयुक्त हुन्छ । 

थोरङ्ला 
नेपालको बहुचर्चित अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला घुम्नका लागि निकै राम्रो गन्तव्य हो । समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङ्ला पास पुग्दा जोकोहीलाई रोमाञ्चक अनुभूति गराउँछ । यो यात्राका लागि एक साताको समय उपयुक्त हुन सक्छ । 

भोटेकोसी
र्‍याफ्टिङका लागि भोटेकोसी विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक हो । नेसनल जियोग्राफी च्यानलले यसलाई साहसिक जलयात्राका उत्कृष्ट १० गन्तव्यको सूचीमा राखेको छ । सिन्धुपाल्चोकको सुकुटे बिचबाट भोटेकोसीमा र्‍याफ्टिङ गरेर दोलालघाट निस्कन सकिन्छ । झन्डै दुई घन्टा ३० मिनेट अवधिको यो र्‍याफ्टिङका क्रममा नियाल्न पाइने आसपासको प्राकृतिक सौन्दर्य सुन्दर छ । 

पिके डाँडा
पिके डाँडा घुम्नलायक गन्तव्य हो । यो सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्छ । यो डाँडाबाट मौसम खुलेको समय सर्वोच्च शिखर सगरमाथासहित सातवटा हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदय र हिमाल हेर्नका लागि यो डाँडामा ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् । ओखलढुंगा र सोलु दुवै स्थान हुँदै यहाँ पुग्न सकिन्छ । 

लोमान्थाङ
माथिल्लो मुस्ताङको सदरमुकामको रूपमा लोमान्थाङलाई चिनिन्छ । यसलाई नेपालको मरुभूमि भनेर पनि चिनिन्छ । हिमाली जीवन, ऐतिहासिक, पुरातात्विक संरचना तथा गुफाहरू हेर्नका लागि पर्यटक पुग्छन् । 

लाङटाङ
लाङटाङ नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यो रसुवा जिल्लामा पर्छ । हिमशृंखला, क्यान्जिन उपत्यका, जैविक विविधता, ऐतिहासिक गुम्बालगायत मनोरम दृश्यका लागि यो गन्तव्य आकर्षक गन्तव्य हो । यस यात्राका लागि एक हप्ताको समय पर्याप्त हुन्छ । 

मार्दी ट्रेक (हिमाल )
हिमाल हेर्नका लागि मार्दी ट्रेक चर्चित छ । मार्दी हिमालको बेस क्याम्प चार हजार चार सय ५० मिटरमा अवस्थित छ । यो अन्नपूर्ण क्षेत्रमा पर्छ । पोखराबाट २२ किलोमिटर दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यसपछि जंगलको बाटो हुँदै उकालो चढेर मार्दी हिमालको बेस क्याम्प पुग्न सकिन्छ । यसका लागि अन्य ‘रुट’ पनि छन् । 

लिमी भ्याली
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित हिल्सामा पर्ने लिमी भ्याली तीन हजार ६६० मिटरको उचाइमा छ । यहाँ पुग्नका लागि १० देखि १२ दिनको समय उपयुक्त हुन सक्छ । 
 

See More On

सुझावित समाचार