दैलेखका दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको काम सकिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखले दिएको जानकारीअनुसार दुई संघ र चारवटा प्रदेश सभाका लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि नाैजनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये तीनजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. २ मा पाँचजनाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनबाट कांग्रेस, राप्रपा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेका रवीन्द्रराज शर्मा, नेकपा एकीकृत समाजवादी गठबन्धनबाट अम्मरबहादुर थापा, नेपाली कांग्रेस बिपीबाट भूपालबहादुर थापा, राप्रपाबाट कुन्तिकुमारी शाही, नेपाल मजदुर किसान पार्टीबाट प्रकाश गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्द्रप्रसाद शर्मा, स्वतन्त्रबाट नरकबहादुर थापा, गणेशबहादुर शाही, गोपाल नेपालीको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) र प्रदेश (ख) मा पाँच–पाँचजना गरेर १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (क)मा चित्रबहादुर खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट धर्मराज रेग्मी, नेपाली कांग्रेस गठबन्धनबाट पूर्णबहादुर खत्रीको उम्मेदवारी परेको छ । नेपाल मजदुर किसान पार्टीबाट जगतबहादुर ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हृदयराज शाहीको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेका प्रेमबहादुर थापा, नेपाली कांग्रेस गठबन्धनबाट कृष्णकुमार बिसी, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मीकुमारी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेकबहादुर खानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट लक्ष्मीप्रसाद पोखरेल, नेपाली कांग्रेस गठबन्धनबाट दिक्पालकुमार शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट केसेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरीको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) बाट नेकपा एमालेका तिलक रिजाल, नेपाली कांग्रेस गठबन्धनबाट घनश्याम भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेमबहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट मदनकुमार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट चक्रलाल सुनार, पुरुषोत्तम रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश (ख) मा नेकपा एमालेका विनोदकुमार शाह, नेकपा माओवादी केन्द्र गठबन्धनबाट योगेन्द्रबहादुर शाही, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट जयबहादुर थापा, स्वतन्त्र उम्मेदवारका रूपमा राजेशकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
समाजवादीका केन्द्रीय सदस्य खाणले दिए स्वतन्त्र उम्मेदवारी
एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेकबहादुर खाणले दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनको निर्णयअनुसार दैलेख क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ समाजवादी, प्रदेश सभा (क) र (ख) कांग्रेसको भाग परेको क्षेत्रमा समाजवादीका नेता खाणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
खाण पूर्वजिविस सभापति हुन् । उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । पार्टी विभाजनपश्चात् उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए ।
एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ मा उनले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला र केन्द्रको नेतृत्वले पटक–पटक आफूलाई अपमान गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनुपरेको प्रतिक्रिया दिएका छन् ।
‘०४७ बाट एमालेको राजनीतिमा लागेको हुँ । यसअघिका निर्वाचनमा तीनपटक समानुपातिक सूचीमा नाम राखियो, केन्द्रीय नेतृत्वले समेट्न सकेन । यसपालि पनि जिल्ला र प्रदेशबाट १ नम्बरमा आफ्नो नाम सिफारिस हुँदा पनि काठमाडौंमा रहेका केही नेताको अपरिपक्वताले यसपालि पनि नाम समावेश गर्न कन्ज्युस्याइँ गरियो, त्यसैले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन बाध्य भएँ,’ नेपालीले भने ।
एमालेको अर्थ विभागका सचिव योगेन्द्रबहादुर शाही एमाले परित्याग गरी माओवादी केन्द्रबाट निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा उम्मेदवार बनेका छन् । रातारात पार्टी परिवर्तन गरेर माओवादी केन्द्रबाट शाहीले टिकट पाएका छन् ।
उनले टिकट पाउनुअघि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता उमेशकुमार रावतको टिकट पक्का भएको थियो । उमेश रावतले सामाजिक सञ्जालमा आफूलाई पार्टीले अन्याय गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीसँगै पार्टीका अन्य शुभेच्छुकहरूले समेत आपत्ति जनाएका छन् ।
राप्रपा महामन्त्री कुन्ति शाही पहिलोपटक मैदानमा
राप्रपाकी महामन्त्री कुन्ति शाही दैलेख क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी भन्दै शाहीले सामाजिक सञ्जालमा मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न, आवाजविहीन गरिब महिला, युवा, दलित, वृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको दाबी गरेकी छिन् ।
उनले ‘दैलेखलाई पर्यटन प्रवर्द्धन, बलियो पूर्वाधार, आधुनिक कृषि, व्यवस्थित विद्युतीय ऊर्जाबाट सबल र सक्षम बनाउनु आफ्नो पहिलो दायित्व रहेको प्रतिक्रिया दिएकी छिन् । राजनीतिक दलहरूमा देखिएको असन्तुष्टिलाई आफूले समाधान गर्ने र समग्र जिल्लाको विकासका लागि आफूले निर्वाचनमा विजय प्राप्त गर्ने उनको प्रतिक्रिया छ ।
पूर्वराज्यमन्त्री हुँदा दैलेखका ठूला विकासमा आफूले सहयोग गरेको भन्दै पहिलोपटक जनताबाट अनुमोदनका लागि प्रत्यक्ष चुनाव लडेको शाहीको प्रतिक्रिया छ ।
उनी यसअघि दुईपटक सभासद् भइसकेकी छिन् । दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो छवि निर्माण गर्न सफल शाहीले ठूला राजनीतिक दल मानिएका कांग्रेस, एमालेबाट कुनै पनि नेताले अहिलेसम्म राष्ट्रिय राजनीतिमा पकड जमाउन नसकेका कारण जिल्लाका विकास हुन नसकेको बताइन् ।
दैलेख– १ मा कांग्रेस बिपीको पनि उम्मेदवारी
कांग्रेसमा रहेर लामो समयदेखि सक्रिय राजनीति गरेका भूपाल थापाले नेपाली कांग्रेस बिपीबाट दैलेखको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको कार्यपालिका सदस्य रहेका भूपाल थापाले कांग्रेस दैलेखमा देखिएको नेतृत्वको असमानजनक व्यवहार र विगत ०७४ सालदेखि कांग्रेसका कार्यकर्ताहरूले आफ्नो पार्टीमा मतदान गर्न नपाएको विषयलाई लिएर आफूले कांग्रेस बिपीको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।