ओनसरी काठमाडौं छिर्नुको ‘घनश्याम फ्याक्टर’

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

माओवादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं- २ को प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएकी छिन्।

क्षेत्रीय निर्वाचन कार्यालय, थली पुगेर घर्तीले सवा चार बजे मनोनयन दर्ता गराएकी हुन्। उनलाई माओवादीले अन्तिम समयमा काठमाडौं- २ मा निर्वाचन लड्न टिकट दिएको थियो। 

यसअघि उनले रुपन्देही १ बाट निर्वाचन लड्ने आंकाक्षा राखेकी थिइन्। तर, एमाले परित्याग गरेका घनश्याम भुसाललाई माओवादीसहित सत्तागठबन्धन दलले सघाउने समझदारी बनेपछि ओनसरी काठमाडौं- २ मा उठेकी हुन्।

उनी माओवादी पार्टीभित्र प्रभावशाली महिला नेतृका रूपमा स्थापित छिन्। घर्तीका लागि काठमाडौंको निर्वाचन क्षेत्र नौलो हो तर उनलाई सत्तागठबन्धनमा रहेका कांग्रेस र जनता समाजवादीको बलियो साथ छ। 

घर्तीसँगै काठमाडौं जिल्लामा माओवादीले आफ्नो चुनाव चिह्नमा ३ जना महिला उम्मेदवार उठाएको छ। माओवादीको चुनाव चिह्नमा काठमाडौं- ७ मा मानुषी यमी भट्टराईसमेतले मनोनयन दर्ता गराएकी छिन्। काठमाडौं- ९ मा माओवादी नेतृ कल्पना धमलाले उम्मेदवारी दिएकी छिन्।

सुझावित समाचार