प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरूले आइतबार प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि महेश बर्तौलाले मनोनयन दर्ता गराएका हुन्।
यस्तै, यसै क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि २ को (क) मा विष्णु ढकाल र (ख)मा लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन्। यसैगरी, मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ को (क) मा कमल विष्ट र (ख) मा जिल्ला अध्यक्षसमेत रहेका एकलाल श्रेष्ठले मनोनयन दर्ता गराएका छन्। मकवानपुरको प्रतिनिधिसभा १ मा भने नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार बिहान मनोनयन गराएका थिए।
अध्यक्ष थापालाई टिकट दिएको विषयलाई लिएर एमाले कार्यकर्ताहरूले आइतबार बिहान पार्टी कार्यालयमा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालयमा तोडफोडको प्रयाससमेत गरेका थिए। एमालेको समर्थन पाएका राप्रपाका अध्यक्ष थापाले पनि एमालेको सूर्य चिह्नबाटै चुनाव लड्ने भएका छन्।