आगामी ४ मंसिरमा हुनेमा निर्वाचनमा काठमाडौं उपत्यकाबाट प्रतिनिधिसभातर्फका १० निर्वाचन क्षेत्रमा ५० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन् । अहिलेसम्म पक्का भएका उम्मेदवारको सूची हेर्दा यसपटक उपत्यकामा प्रमुख दलका लागि स्वतन्त्र उम्मेदवार चुनौती बन्ने देखिएको छ । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापार तथा इन्जिनियर बालेन साहले अप्रत्याशित रूपमा काठमाडौं महानगरपालिकाको मेयर जितेपछि यसको प्रभाव आउँदो चुनावमा पनि देखिने विश्लेषकहरूको आकलन छ । दलहरूप्रति उपत्यकाका मतदाताले असन्तुष्टि देखाएपछि यसको फाइदा उठाउने दाउमा दर्जनौँ स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताको तयारीमा छन् ।
काठमाडौं १ मा त्रिपक्षीय भिडन्त
काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक पनि कांग्रेस नेता प्रकाशमान सिंह उम्मेदवार बन्ने पक्का भएको छ । सिंहको पकड क्षेत्र मानिएको यहाँ उनीविरुद्ध एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेलले टिकट पाएका छन् । यस्तै, ०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएर सिंहसँग थोरै मतले पराजित भएका रवीन्द्र मिश्रले यसपटक राप्रपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।
यी उम्मेदवारसँगै सामाजिक तथा राजनीतिक अभियन्ताका रूपमा परिचित पुकार बम पनि यही क्षेत्रबाट उठ्दै छन् । विवेकशील नेपाली दलका संस्थापकमध्येका एक बमले ‘अकुपाई बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अनशन, ‘नेपाल खुला छ’जस्ता प्रतिरोधका राजनीतिक अभियानमा सहभागिता जनाएका थिए । यही क्षेत्रबाटै पूर्वडिआइजी रमेश खरेल पनि उम्मेदवारी दिने तयारीमा छन् । भ्रष्टाचारविरुद्धको अभियान भन्दै नेपाल सुशासन पार्टीको नेतृत्व गरिरहेका उनको उम्मेदवारीले पनि मत विभाजनमा भूमिका खेल्ने आकलन छ ।
काठमाडौं २ मा राप्रपाको नजर
नेकपा एसका अध्यक्ष माधव नेपालको प्रभाव क्षेत्र मानिएको क्षेत्र नम्बर २ मा एमालेले मणिराम फँुयाललाई उम्मेदवार बनाएको छ । नेपालले गृहजिल्ला रौतहटबाट उम्मेदवारी दिने भएका छन् । सत्तागठबन्धनका तर्फबाट यसपटक यस क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार उठ्नेछन् । शनिबार रातिसम्म पनि माओवादीले उम्मेदवारको टुंगो लगाएको छैन ।
राप्रपाबाट भने यो क्षेत्रबाट काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा उम्मेदवार बन्दै छन् । उपत्यकामा काठमाडौं २ राप्रपाले विशेष नजर लगाएको क्षेत्र पनि हो । गत स्थानीय निर्वाचनमा यही क्षेत्रभित्र पर्ने शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाकै उम्मेदवार रमेश नापितले मेयर जितेपछि पनि राप्रपाको मतलाई यो क्षेत्र अर्थपूर्ण मानिएको छ । यस्तै, यही क्षेत्रबाट बिमा व्यवसायी कोषराज सुवेदी र सेयर मार्केटमा सक्रिय रोहन कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
काठमाडौं ३ मा दलकै उम्मेदवार बलिया
काठमाडौं क्षेत्र नम्बर ३ मा भने एमालेका तर्फबाट कृष्ण राई उम्मेदवार बन्ने भएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न गठबन्धनले कांग्रेसबाट सन्तोष चालिसेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, राप्रपाबाट गणेश गिरीले यो क्षेत्रबाट उम्मेदवारी दिँदै छन् । स्वतन्त्र उम्मेदवारका रूपमा समाजसेवी निरञ्जन पुडासैनी र रेडियोकर्मी हरिशरण लामिछानेले पनि यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौं ४ मा पुरानै प्रतिस्पर्धी
कांग्रेस महामन्त्री गगन थापाको प्रभाव क्षेत्रका रूपमा परिचित काठमाडौं ४ मा यसपटक उम्मेद्वारहरूको भिड देखिएको छ । कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवारका रूपमा दोहोर्याउने निर्णय गर्दा एमाले पनि अघिल्लोपटक उनीसँग पराजित भएका राजन भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ ।
यस्तै, राप्रपाको तर्फबाट यो क्षेत्रमा डा. ठाकुरमोहन श्रेष्ठ उम्मेदवार बन्दै छन् । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या पनि धेरै छ । युवा इन्जिनियर आकर्षण पोखरेल, सामाजिक सञ्जालमा चर्चित अर्जुन प्रसाईं, सेयर कारोबारी राधा पोखरेल, समाजसेवी शिवराज पोखरेलसम्मले यो क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौं ५ मा ईश्वर पोखरेल र प्रदीप पौडेल भिड्दै
एमाले नेता ईश्वर पोखरेलको बलियो निर्वाचन क्षेत्र मानिएको काठमाडौ क्षेत्र नम्बर ५ पनि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको लर्को छ । अघिल्लोपटक वाम गठबन्धन हुँदा सहज जित निकालेका उनलाई यसपटक स्वतन्त्र उम्मेदवारहरू भारी हुने देखिएको छ ।
अघिल्लोपटक आफूसँगै रहेको माओवादी र एकीकृत समाजवादीका मतदाता यसपटक अन्तै जाने हुँदा उनलाई सहज देखिँदैन । अझ सत्तागठबन्धनका तर्फबाट कांग्रेसले नेता प्रदीप पौडेललाई यो क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसकारण पनि यसपटक यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । राप्रपाका तर्फबाट भने डा. रामप्रसाद उपे्रती (राप्रपा) यो क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।
यस्तै, विवेकशील नेपाली दलकी पूर्वनेता रञ्जु दर्शनाले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिँदै छिन् । यसअघि काठमाडौं महानगरको मेयरमा उठ्दा २३ हजारभन्दा बढी मत ल्याएकी उनलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
युवा उद्यमी विजय कँडेलले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले धुलोरहित काठमाडौंका लागि भन्दै ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए । प्रा.डा. गोपीलाल न्यौपानेले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ३५ वर्षसम्म त्रिविका कलेजमा अध्यापन गराएका उनले स्वतन्त्र र खुला बजार अर्थतन्त्र, सानो र सीमित सरकार, सानो संसद्, सानो कर्मचारी प्रशासनलगायत एजेन्डा अघि सार्दै उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, ‘लौरो अभियान’ भन्दै हास्य कलाकार मधुसुदन पाठक ‘सिते बा’ले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
काठमाडौं ६ मा भीमसेन दास र पूर्वआइजिपी खनाल
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धनका तर्फबाट टिकट पाएका छन् । उनका विरुद्ध एमाले प्रवेश गरेको एक महिना नबित्दै पूर्वआइजिपी सर्वेन्द्र खनालले टिकट पाएका छन् । राप्रपाबाट भने विष्णुप्रसाद आचार्य यो क्षेत्रको चुनावी मैदानमा उत्रिँदै छन् ।
काठमाडौं ७ मा रोचक प्रतिस्पर्धा
काठमाडौं ७ को चुनावी प्रतिस्पर्धा पनि यसपटक रोचक हुने देखिएको छ । कारण, यसपटक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई माओवादी केन्द्रको तर्फबाट यस क्षेत्रको सत्तागठबन्धनको उम्मेदवार बन्दै छन् । जसपासँग तालमेल गर्ने सहमति गरेको एमालेले भने शनिबार अबेरसम्म यो क्षेत्रको उम्मेदवार टुंग्याएको छैन । कारण, जसपाका नेता राजेन्द्र श्रेष्ठले यही क्षेत्रबाट चुनाव उठ्ने घोषणा गरेका थिए । तर, जसपाको टुंगिएको उम्मेदवारको सूचीमा पनि श्रेष्ठको नाम देखिएको छैन । राप्रपाको तर्फबाट भने ध्रुवविक्रम मल्लले उम्मेदवारी दिँदै छन् ।
यस्तै, काठमाडौंको ‘कोर सिटी’भित्र पर्ने यो क्षेत्रबाट सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थ र नागरिक अभियन्ता रवीन्द्रकुमार श्रेष्ठले यही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन् । कोर सिटीभित्र उनीहरूको प्रभाव राम्रो रहेकाले दलका उम्मेदवारलाई उनीहरू चुनौती बन्ने देखिएको छ ।
काठमाडौं ८ मा मेयरमा हारेका सुमन सायमी सांसद बन्ने योजनामा
काठमाडौं ८ बाट एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, शाक्यले नयाँलाई अवसर दिनुपर्ने भन्दै एमाले अध्यक्ष ओलीलाई आफ्नो विकल्पमा शिव वैद्य या विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउन सुझाएकी छिन् । यो क्षेत्रबाट गठबन्धनका तर्फबाट नेकपा एसका जीवनराम श्रेष्ठले उम्मेदवारी दिँदै छन् । राप्रपाले भने यहाँ प्रकाश रिमाललाई उम्मेदवार बनाउने भएको छ ।
गत स्थानीय निर्वाचनमा महानगरको मेयरमा हारेका सामाजिक अभियन्ता सुमन सायमी पनि यही क्षेत्रबाट उम्मेदवार बन्दै छन् । स्वतन्त्रहरूका लागि देशभर लौरो अभियान चलाएका सायमीले मेयरमा हार्दै गर्दा पनि १३ हजार सात सय ७० मत ल्याएका थिए । हारेपछि पनि बालेनको विजयी र्यालीमा उनी सहभागी भएका थिए ।
यस क्षेत्रबाट ०७४ को निर्वाचन एमाले उम्मेदवार जीवनराम श्रेष्ठले जितेका थिए । उनले कांग्रेसका नवीन्द्रराज जोशीलाई हराएका थिए । एमालेबाट विजयी श्रेष्ठ भने यतिखेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । काठमाडौंको भूमि, भाषा, सम्पदा र संस्कृतिको आन्दोलनमा निरन्तर होमिरहेका सायमी यसपटक दलहरूका लागि चुनौती बन्ने देखिएको छ । कारण, सायमीले ल्याएको अधिकांश मत उनी उठ्ने क्षेत्रबाटै आएका हो । सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्षसमेत हुन् ।
काठमाडौं ९ मा स्वतन्त्र उम्मेदवार धेरै
काठमाडौं ९ बाट एमालेले कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राप्रपाले यहाँबाट देवेन्द्र प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको उपमेयरमा पराजित विद्या श्रेष्ठ महर्जन यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभातर्फ लड्दै छिन् । श्रेष्ठ पनि सायमीसँग एकै अभियानमा होमिरहेकी अभियन्ता हुन् । उनले पनि अघिल्लो निर्वाचनमा १३ हजार ६ सय ९५ मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् । ०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । रैथानेमाझ विद्याको राम्रो लोकप्रियता भएका कारण यसपटक श्रेष्ठलाई उनी चुनौती बन्ने देखिएको छ । बेलायतबाट कानुनमा पिएचडी गरेर आएका डा. ज्ञान बस्नेतले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौं १० मा सत्तागठबन्धनबाट केसी, एमालेले बादललाई ल्याउने सम्भावना
काठमाडौं १० बाट एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापालाई उमेद्वार बनाउने सम्भावना छ । उनका विरुद्ध सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले राजेन्द्र केसीलाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राप्रपाका बलराम थापा पनि यही क्षेत्रबाट उठ्दै छन् ।
स्वतन्त्र उम्मेदवारले फाइदा लिन सक्ने सम्भावना छ : भास्कर गौतम राजनीतिक विश्लेषक
काठमाडौं उपत्यकामा कुनै पार्टीमा पनि आबद्ध नभएको, पढेलेखेको अनि स्वतन्त्रलाई भोट दिने जमात ठूलो छ । रञ्जु दर्शना, किशोर थापा हुँदै बालेन शाहसम्म आइपुग्दा हामीले यो कुरा देखिरहेका छौँ । यस्तो मतदाताको भोट सधैँ ‘सिफ्ट’ भइरहने हुँदा यसपटक त्यसको फाइदा स्वतन्त्र उम्मेदवारले लिन सक्ने सम्भावना छ । दलहरूले ‘यो देशमा राजनीति गर्ने, चुनाव लड्ने हाम्रो मात्रै अधिकार हो’ भनेर जसरी नयाँ आउने मान्छेका बारेमा छुद्र टिप्पणी गर्ने प्रवृत्ति देखिएको छ, त्योचाहिँ अराजनीतिक हो । यसबाट स्वतन्त्रले फाइदा लिन सक्छन् या सक्दैनन्, त्यो अर्कै कुरा भयो, तर यसले दलहरूलाई पक्का घाटा पुुर्याउँछ ।
भक्तपुरमा यसपटक चुनावको फरक रौनक
भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये १ बाट एमालेले नवराज गेलाल उम्मेदवार बनाउने भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रको उम्मेदवार अहिलेसम्म टुंगिएको छैन । देशभरका उम्मेदवारको सूची आइतबार बिहानसम्म टुंग्याउने माओवादीको तयारी छ ।
युवा संघका पूर्वअध्यक्ष रहेका महेश बस्नेत यसपटक पनि भक्तपुर २ बाट एमाले उम्मेदवारका रूपमा दोहोरिने भएका छन् । उनीविरुद्ध कांग्रेसले जिल्ला सभापति दुर्लभ थापालाई उम्मेदवार बनाएको छ । लौरो अभियानका तर्फबाट स्वतन्त्र उम्मेद्वारका रुपमा दह्रो स्तम्भ लोकेन्द्र पनि यही क्षेत्रबाट उठ्दै छन् ।
मजदुर किसान पार्टीले उम्मेदवार सार्वजनिक गरेन
नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्र मानिएको भक्तपुरमा अहिलेसम्म उम्मेदवार सार्वजनिक भएको छैन । नेमकिपाले आइतबार नै उम्मेदवार सार्वजनिक गर्ने बताएको छ । यद्यपि, ०७४ सालको निर्वाचनमा नेमकिपाका तर्फबाट भक्तपुर १ बाट विजयी भएका सांसद प्रेम सुवाल यसपटक पनि दोहोरिने सम्भावना छ ।
ललितपुरमा पुरानै प्रतिस्पर्धी
ललितपुर १ बाट यसपटक पनि पूर्वडिआइजी नवराज सिलवालले नै एमालेको टिकट पाएका छन् । उनको प्रतिद्वन्द्वीका रूपमा यसपटक पनि कांग्रेसका तर्फबाट उदयशमशेर राणा लड्ने भएका छन् । यस्तै, ललितपुर २ मा एमालेबाट प्रेम महर्जन र गठबन्धनका तर्फबाट नेकपा एसका कृष्णलाल महर्जन उम्मेदवार बन्ने भएका छन् । माओवादी नेतृ पम्फा भुसालको निर्वाचन क्षेत्र रहेको ललितपुर ३ बाट भने एमालेले अमृत खड्कालाई उम्मेदवार बनाउने भएको छ । यस क्षेत्रबाट सामाजिक अभियन्ताका रूपमा परिचित राजाराम तन्डुकारले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उपत्यकामा अघिल्लोपटकको परिणाम कस्तो थियो ?
अघिल्लोपटक काठमाडौं उपत्यकाका १५ क्षेत्रमध्ये नेकपा एमालेले काठमाडौं जिल्लामा ६ सिट, भक्तपुरमा एक र ललितपुरमा दुई गरी नौ सिट जितेको थियो । यस्तै, माओवादी केन्द्रले ललितपुरको क्षेत्र नम्बर २ बाट मात्रै जितेको थियो भने कांग्रेसले काठमाडौं जिल्लाबाट चार सिट जितेको थियो । भक्तपुरको एक निर्वाचन क्षेत्रबाट नेमकिपाले जितेका थियो ।
प्रतिनिधिसभा निर्वाचन ०७४ मा काठमाठौं निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह, निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका माधवकुमार नेपाल, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै कृष्ण राई, निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेसका गगनकुमार थापा, निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेका ईश्वर पोखरेल, निर्वाचन क्षेत्र नम्बर ६ बाट एमालेका भीमसेनदास श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर ७ बाट रामवीर मानन्धर, निर्वाचन क्षेत्र नम्बर ८ बाट एमालेकै जीवनराम श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर ९ बाट पनि एमालेकै कृष्णगोपाल श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर १० बाट एमालेका राजेन्द्रकुमार केसी विजयी भएका थिए ।
यस्तै, ललितपुरको तीन निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्रमशः एमालेका नवराज सिलवाल र कृष्णलाल महर्जन विजयी भएका थिए । निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् । भक्तपुरको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट नेमकिपाका प्रेम सुवाल र नेकपा एमालेका महेश बस्नेत विजयी भएका थिए ।