बालिका जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले आगामी सोमबार म्याद थप गर्ने तयारी गरेको छ । त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिनेछ र अनुसन्धानका बाँकी पक्षमा प्रहरी लाग्नेछ ।
सन्दीपले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसयता उनलाई प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ । दसैँ बिदाका कारण उनीविरुद्ध प्रहरीले म्याद थप गर्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले २१ असोजबाट लागू हुने गरी सन्दीपविरुद्ध अदालतबाट म्याद थप गरिने बताए ।
उनले भने, ‘सन्दीपविरुद्ध म्याद थप भएको छैन । उनी अहिले हाम्रै हिरासतमा छन् । थप अनुसन्धान बाँकी छन् । दसैँ पर्वका कारण बाँकी कार्य प्रभावित भएका छन् । सोमबार म्याद थप गर्ने हाम्रो योजना छ । त्यसपछि अनुसन्धानका बाँकी पाटो सुरु हुन्छ ।’
प्रहरीका अनुसार हालसम्म सन्दीपसँग बयान लिने कार्य भएको छैन । म्याद थपलगत्तै बयान सुरु हुनेछ । बयानका आधारमा थप तथ्य संकलन हुनेछ । यस क्रममा कसैको नाम अघि आए उनीहरूसँग पनि प्रहरीले बयान लिनेछ । हालसम्म संकलन गरिएका दसी–प्रमाण पनि यही क्रममा ‘भेरीफाई’ गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गर्नेछ । कानुनले तोकेकै अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिने परिसरका प्रवक्ता एसपी मैनालीले बताए ।
उनले भने, ‘सन्दीपसँग बयान लिइएको छैन । म्याद थप हुनासाथ बयान लिने काम हुन्छ । बयानमा पोलिएका व्यक्तिसँग पनि सोधपुछ हुन्छ । हालसम्म संकलन गरिएका दसी–प्रमाणको ‘भेरिफिकेसन’ हुन्छ । सबै प्रक्रिया पूरा भएपछि तोकिएकै अवधिभित्र मुद्दा सरकारी वकिलको कार्यालयमा पेस हुनेछ ।’
१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ ।
मुलुकी अपराध संहिता ऐन–०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेविरुद्ध थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । सोही निवेदनपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।