पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपात गरेपछि एमाले अछाम कमिटीका तीन दर्जन बढी नेताले सामूहिक राजीनामा दिएका छन्। क्षेत्रीय समन्वय कमिटीको सिफारिसविपरीत ओलीले भीम रावललाई टिकटबाट बञ्चित गरेको भन्दै जिल्लाका ३८ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।
निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नं १ मा रावलको नाम सर्वसम्मत एकल सिफारिस गरेको थियो। तर, पार्टी केन्द्रले एकल सिफारिस भएका रावलको साटो जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गर्यो। त्यसको विरोधमा जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।
यसअघि आजै समन्वय कमिटीका संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिइसकेका छन्। पार्टीमा ओलीको दम्भ र स्वेच्छाचारिता हाबी भएको भन्दै नेता घनश्याम भुसालले समेत पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।
अध्यक्ष ओलीले संसद् विघटनको विपक्षमा उभिने पार्टीका नेताहरूलाई टिकट नदिने नीति लिएपछि एमालेमा तरंग छाएको छ।

