लगातारको वर्षाले अर्घाखाँचीको जनजीवन प्रभावित, ग्रामीण सडक ठप्प

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरो गएकाले मानिसहरू जहाँको तहीँ ठप्प भएका छन्

लगातार आएको वर्षाका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । दसैँ मनाउन विभिन्न ठाउँबाट घर आएका मानिस गन्तव्यमा फर्किन सकेका छैनन् ।  यहाँका धेरैजसो ग्रामीण सडक पहिरोले अस्तव्यस्त बनेका छन्। निरन्तरको वर्षाले  विद्युत् आपूर्तिमा समेत अवरोध गरेको छ । मोबाइल चार्ज गर्न विद्युत् नहुँदा मानिस टेलिफोन सम्पर्कबाट समेत विच्छेद भएका छन् । वर्षाको कारण मानिस मात्र नभएर  पशुचौपाया पनि प्रभावित भएका छन्।

पहिरो तथा भूक्षय उच्च जोखिम घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण 

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घरआसपासको जमिन चर्किने, घरमाथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछि ३४ घरपरिवारका एक सय ४८ जनालाई स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ । 

सन्धिखर्क नगरपालिका- ६ जगातका तीन घरपरिवार, छत्रदेव गाउँपालिकाका १० घरपरिवार र पाणिनी गाउँपालिका- ८ को एक घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी मालारानी- ६ का २० घरपरिवारलाई समेत सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  कृष्ण घिमिरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा समस्या

सन्धिखर्क-गोरुसिंगे सडकमा ठाउँ-ठाउँमा पहिरो गए पनि आंशिक रूपमा सडक खुला भएको छ । यस सडकखण्डको घुम्ती र जगातमा पहाड नै खसेकाले सडक पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । सडकमा खसेको पहिरो हटाएको केही समयमा नै पुन: लेदोमाटो झर्ने क्रम नरोकिएकाले नियमित रूपमा सडक सञ्चालन हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरो गएकाले मानिसहरू जहाँको तहीँ ठप्प भएर बसेका छन् ।  पहिरोले गर्दा ग्राीण सडकमा गाडी चल्न सकेका छैनन्। सदरमुकाम सन्धिखर्कबाट गाउँ जाने सबै सडक अवरुद्ध छन्।  भूमिकास्थान, शितगंगा र मालारानीका केही स्थानमा पोल ढल्दा आंशिक रूपमा विद्युत्  अवरुद्ध भएको छ।

खोलाले बगाएका बालक अझै बेपत्ता

बुधबार खोलाले बगाएका एकजना बालक अझै बेपत्ता छन् । सन्धिखर्क- ७, किटेनीका १० वर्षीय बालक समीर पौडेललाई मामाघर जाने क्रममा स्थानीय फर्ज्याङ खोलाले बगाएको थियो। बुधबारदेखि बेपत्ता भएका बालककाे खोजीकार्य  जारी छ  । तैपनि  फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली परिचालन गरेर खोजी गरे पनि बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । 

लगातारको अविरल वर्षाको कारण जोखिम बढेपछि अत्यावश्यक काममा बाहेक हिँडडुल तथा यात्रा नगर्न जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोधसमेत गरेको छ। गएरातिदेखि भने वर्षा राेकिएकाे छ। 

सुझावित समाचार