स्वस्तिवाचन र शंखघोष गर्दै राप्रपा भित्रिए रवीन्द्र मिश्र

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रमबीच  ब्राह्मण बटुकहरूले स्वस्तिवाचन र शंखघोषसहित मिश्र राप्रपा प्रवेश गरेका हुन्। 

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको भएकाे छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। 

राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीचको एकता नाम दिइएको कार्यक्रममा शंख र घण्ट बजाएर एकताको घोषणा गरिएको थियो । 

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले चारबुँदै एकता घोषणापत्रमा हस्ताक्षर गरे । दुवैले एकअर्कालाई माला लगाइदिएका थिए । घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउन एकता गरिएको उल्लेख छ । राजसंस्था पुनस्र्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । 

अब मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । एकताको दश दिनभित्र राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गर्ने जनाइएको छ । प्रदेश तथा अन्य कमिटीको समायोजनका लागि दुवै पक्षका दुई–दुई जना रहने चार सदस्यीय समिति बनाइने पनि उल्लेख छ । 

राप्रपामा प्रवेश गर्ने तयारी पूरा गरेपछि मिश्रले केही दिनअघि विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । त्यसअघि गत स्थानीय तह निर्वाचनमा नराम्रो पराजयपछि उनले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । 

वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लाग्ने भन्दै उनले सुरुमा साझा पार्टी निर्माण गरेका थिए । त्यसपछि उनले विवेकशील पार्टीसँग एकता गरेका थिए । एकतापछि पुनः फुट र पुनः एकता भएको थियो । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका मिश्र यसपटक पनि उम्मेदवारी दिने तयारीमा छन् । 
 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका



सुझावित समाचार