आजबाट हिन्दूहरूको महान् चाड दसैँ सुरु भएको छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ । नौ दिनसम्म नवदुर्गाको पूजाआराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ ।
अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएको संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ बताउँछन् । ‘पहाडमा दुर्गाको उपासना भएजसरी हिमाली क्षेत्रमा बौद्धमार्गीहरूले ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्छन् । धार्मिक रूपमा इसाई र मुस्लिमहरूले मनाउँदैनन् । नत्र, पूरा पहाडखण्ड र मधेसमा धुमधामका साथ दसैँ मनाइन्छ,’ गुरुङले भने, ‘अहिले हामी धेरैले हिन्दू विधिअनुसार दसैँ मनाउँछौँ ।
विगतमा सबै समुदायले आ–आफ्नो संस्कृतिअनुसार मनाउँथे । जस्तो, लिगिलिग कोटमा घलेहरू चेपे नदीमा टीकोटालो गरेर भोज खाएपछि माथि कोटतर्फ दौडन्थे र जित्ने राजा हुन्थ्यो । गुरुङले फूलपातीको दिनमा पितृपूजा गर्छन् । बडादसैँको दिन टीका लगाएपछि पैँडी अर्थात् ज्योतिष÷विद्वान् भएको ठाउँमा गएर आना–माना गर्छन् । त्यसैले यो सबै भूमिपुत्रहरूको चाड हो ।’
प्रा.डा. मदनकुमार रिमाल कृषिप्रधान देश भएकाले नेपालमा मनाइने चाडपर्वहरूमा अन्नबालीको महत्व विशेष रहेको बताउँछन् । ‘बाली भित्र्याउने समयमा दसैँ पर्छ । त्यहीकारण अक्षतालाई दहीमा मुछेर लगाउँछौँ,’ उनले भने, ‘अन्नबाली फस्टाउनका लागि पानी चाहिने भएकाले पानी माग्दै मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रा मनाइन्छ ।’
कुन दिन कसको पूजा गर्ने ?
असोज १० : नवरात्रको पहिलो दिन घटस्थापना अर्थात् जमरा राखिन्छ । यसको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको छ । यस दिन शैलपुत्रीको पूजाआजा गरिन्छ ।
असोज ११ : दोस्रो दिन ब्रह्मचारिणीको पूजाआजा गरिन्छ । यो दिन कार्यालयहरूमा राखिएको झन्डा फेर्ने गरिन्छ । यसको उत्तम साइत बिहान ११ बजेर ११ मिनेटमा रहेको छ ।
१२ असोज : तेस्रो दिन चन्द्रघण्टाको पूजाआजा गरी मनाइन्छ ।
१३ असोज : चौथो दिन कुष्माण्डाको पूजाआजा गरी मनाइन्छ ।
१४ असोज : पाँचौँ दिन स्कन्दमाताको पूजाआजा गरिन्छ ।
१५ असोज : छैटौँ दिन कात्यायनीको पूजाआजा गरिन्छ ।
१६ असोज : सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । यसको उत्तम साइत बिहान १० बजेर ५ मिनेटमा रहेको छ । यो दिन मध्यरातमा कालरात्रिको पूजाआजा गरिन्छ ।
१७ असोज : बडादसैँको आठौँ दिन महाअष्टमीमा शक्तिपीठहरूमा विशेष पूजा हुन्छ । नवरात्रको आठौँ दिनमा महागौरीको पूजाआजासमेत गरिन्छ ।
१८ असोज : शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ । बडादसैँ सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
१९ असोज : विजया दशमी अर्थात् बडादसैँको टीकाको दिन । बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरिन्छ र त्यसपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ ।
नवरात्रको महत्व
प्रा.डा. जगमान गुरुङ संस्कृतिविद्
वर्षमा चारवटा नवरात्र छन् । पुसमा, चैतमा, असारमा पनि नवरात्र पर्छ । तर, शारदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदा (घटस्थापना)देखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ । रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा इन्द्रियहरूले ग्रहण गर्ने आशक्ति हटाउन र इन्द्रियहरूलाई थप सशक्त बनाउन नवदुर्गाको उपासना गरिन्छ । जस्तो– आँखाले त पाप चिताएको हुन सक्छ, मनमा कुविचार पलाएको हुन सक्छ, अन्याय–अत्याचारको कुरा आउला । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आशक्तिमाथि विजय हासिल गरेपछि ती छिद्रहरू थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने भनेको हो । समयअनुसार विभिन्न किंवदन्ती र कथाहरू बन्दै गए पनि नवदुर्गाको उपासना यही हो ।
कृषिप्रधान देशको प्रतीक जमरा
प्रा.डा. मदनकुमार रिमाल संस्कृतिविद्
इतिहास हेर्दा १५–१६ सय वर्षदेखि कृषिप्रधान भूगोलका रूपमा नेपाल प्रसिद्ध छ । यहाँ, लिच्छवी राजाहरूले कुलो बनाएर ठूला–ठूला इलाकामा खेती गरे । अनि, त्यो कुलाको पानीलाई ढुंगेधाराका रूपमा टोल–टोलमा वितरण गरे । प्राचीनकालदेखिका गौचरणहरू अझै पनि नेपालमा छन् । कृषिप्रधान देश भएकाले नै बाली भित्र्याइसकेपछि हामी धुमधामका साथ दसैँ मनाउँछौँ । दसैँमा विशेष गरी हरियो दुबो र जमरालाई नयाँ बिउबाट अंकुरण भएको उत्पादनका रूपमा लिइन्छ । दसैँमा मान्यजनहरूले टीका लगाइदिँदा निधारमा अक्षतासँगै कानमा जौ, मकै, धान र गहुँको जमरा लगाइदिने चलनले नै अन्नबालीको महत्व हाम्रो समाजमा कति छ भन्ने संकेत गर्छ । टीका र जमरा लगाइदिएर सम्पन्न होस् भनेर आशिष दिनुको अर्थ धेरै पशु होस्, धेरै खेती होस्, युद्धमा विजय हासिल होस् भन्नु हो । यस समय क्षेत्रीयहरूले हतियार पूजा गर्छन् । क्षेत्रीय भन्नाले क्षेत्रको रक्षा गर्ने सैनिक भन्ने बुझिन्छ ।
जमरा कहाँ राख्ने ?
लक्ष्मण पन्थी सदस्यसविच, अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समिति
घटस्थापनाको दिन पहिले दीप, कलश, गणेशको पूजा गरिन्छ । त्यसपछि जमरा राखिन्छ । घाम नदेखिने ठाउँमा जमरा राख्नुपर्छ । यसको पूजा गर्दा पूर्व तथा उत्तरतर्फ फर्केर गर्नुपर्छ । घरको ईशान कोण अथवा पूर्व फर्केर वा उत्तर फर्केर पूजा गर्दा राम्रो मानिन्छ । जमराको रूपमा जौ, गहुँ, मकैलगायत विभिन्न १० प्रकारका अनाज रोपिन्छ । आफूले खाने अन्नलाई प्रसादको रूपमा जमरा बनाउने हो । यसपछि नौ दिनसम्म देवीको आराधना गर्ने, पूजा गर्ने गरिन्छ । दीप, कलश गणेशको तथा नौवटा घडाको स्थापना गर्नुपर्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद् देवीभागवत् र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । नवरात्रमा घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिनमा सिद्धिदात्रीको पूजा गरिन्छ ।