न्यायोचित टिकट वितरणका लागि दबाब दिन कांग्रेसइतर समूहले बोलायो भेला

शुक्रबार, ७ असोज, २०७९
डिजिटल संस्करण

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा न्यायोचित टिकट वितरणका लागि दबाब दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहले भेला बोलाएको छ। इतर समूहले समानुपातिकको बन्दसूची पेस गरेलगत्तै देशभरबाट टिकट सिफारिस भएपछि काठमाडौंमा रहेकोहरुको भेला बोलाएको हो।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार शनिबार दिँउसो १ बजे बानेश्वर बैंक्वेटमा भेला बोलाइएको छ। ‘न्यायोचित टिकट वितरणका लागि दबाब दिन बृहत खबरदारी भेला राखिएको  हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘टिकटका लागि गठबन्धनभित्रका अरु दललाई न्याय गर्दै गर्दा पार्टीभित्रको अर्को समूहलाई पनि न्याय गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

इतर समूहले सभापति शेरबहादुर देउवा पक्षले एकपक्षीयरुपमा टिकट वितरण गर्न खोजेको भन्दै असन्तुष्टी राख्दै आएको छ। इतर समूहले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ।

सुझावित समाचार