बुटवलमा सस्तो दसैँ बजार सञ्चालनको तयारी थालिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दसैँको घटस्थापनादेखि पाँच दिनसम्म दसैँ सस्तो बजार सञ्चालनको तयारी गरेको हो । यही असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा बिक्री–वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य वस्तुका स्टलसहित नयाँ नोट सटहीको व्यवस्था मिलाइने दसैँ सस्तो बजारका संयोजक संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी दिए ।
दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अन्डालगायतका दैनिक उपभोग्य वस्तु दसैँ सस्तो बजारमा राखिने जनाइएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक, डिडिसी (दुग्ध विकास संस्थान), साल्ट ट्रेडिङलगायत अन्य निजी कम्पनीसँग कुरा भइरहेको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराए । उनका अनुसार दसैँ सस्तो बजारमा बाहिर बजारमा भन्दा सुपथ मूल्यमा बिक्री–वितरणको प्रबन्ध मिलाइनेछ ।