हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन्।

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। यसैगरी बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन्। दसैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको छ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन्। विगतमा काठमाडौं–धनगढी हवाई भाडा रु. सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु. १७ हजार कायम गरिएको छ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौं रहेको छ। विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम रु. चार हजार पाँच सय र अधिकतम रु. १० हजार कायम गरिएको छ। अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौं फर्कनका लागि टीकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ।

सुझावित समाचार