नेपालमा सरकारले ०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई ०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रूपान्तरण गरिएको हो ।नेप्सेले सार्वजनिक रूपमा जारी भएका धितोपत्रहरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ ।
नेप्से परिसूचक धितोपत्र बजारको मापन गर्ने सबैभन्दा महŒवपूर्ण परिसूचक हो र यसलाई अर्थतन्त्रको मापन यन्त्रका रूपमा पनि लिने गरिन्छ । यो परिसूचक नेप्सेमा सूचीकृत संस्थापक र साधरण दुवै सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा गणना गरिन्छ ।
यसका कार्य निम्नलिखित छन् :
सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद–बिक्री गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ । निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ ।
पुँजी बजारका बारेमा जनचेतना फैलाउँछ ।
पुँजी बजारको विकास र विस्तारका लागि सिडिएस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यसबारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्डअन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ ।
पुँजी बजारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐनअनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्छ ।
नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टिङ नभएका वा खारेजी भएका कम्पनीलाई ओटिसी मार्केटमार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ ।