कर्णालीमा तीन सय मेगावाटका दुई पम्प स्टोरेज आयोजना बनाइने

कुन आयोजना कस्तो र कति लगानी ?

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

लगानी बोर्डले नेपालकै दुर्गम मानिने कर्णाली प्रदेशमा तीन सय मेगावाट क्षमताको पम्प स्टोरेज आयोजना बनाउने प्रस्ताव अघि बढाएको छ । बोर्डले सल्यानको कुपिन्डे ताललाई प्रयोग गरेर सय मेगावाट र रुकुम पश्चिमको स्यार्पु ताललाई प्रयोग गरेर दुई सय मेगावाटको पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रस्ताव अघि बढाएको हो । हाल उक्त दुई आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने काम भइरहेको बोर्डका प्रवक्ता अमृत लम्सालले बताए । 

‘फिल्डमै गएर लिइएको विवरणका आधारमा यी आयोजनाको अवधारणा अघि बढाएका हौँ । हाल यसको प्रि–फिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययन गर्ने काम भइरहेको छ । यो अध्ययन गर्न कम्तीमा पनि एक वर्ष लाग्छ,’ उनले भने, ‘अब यस अध्ययनको अन्तिम रिपोर्ट आएपछि मात्रै यी आयोजनाबारे विस्तृत विवरण आउने छ । त्यसकै आधारमा आयोजनाको थप निर्माण प्रक्रिया अघि बढ्नेछ ।’  

विशेष गरी हिउँद (सुक्खा) समयको विद्युत् माग र आपूर्तिलाई सन्तुलित बनाउने उद्देश्यअनुसार बोर्डले उक्त दुई आयोजना बनाउने प्रक्रिया अघि बढाएको हो । 

अध्ययनपछि मात्रैै विस्तृत जानकारी 
हाल यी दुवै आयोजना अध्ययनकै चरणमा छन् । आयोजनाको विस्तृत जानकारी भने पूर्व सम्भाव्यता सकिएपछि मात्रै आउनेछ । साथै, आयोजनाको प्रारम्भिक डिजाइन पनि त्यसवेला नै आउनेछ । यद्यपि, पिक आवरलाई लक्षित गरेर दैनिक ६ घन्टासम्म यी आयोजना सञ्चालन गरिने योजना छ । आयोजनाको विद्युत्गृह तथा दोस्रो ड्याम बनाउने स्थल र तिनीहरूको डिजाइनबारे पनि अध्ययन भएपछि थाहा हुनेछ । 

स्वदेशी लगानीमै बनाइने
सम्भाव्यता अध्ययन सम्पन्न भएपछि स्वदेशी लगानीमै उक्त आयोजना बनाउने बोर्डको तयारी छ । यी आयोजनामा अनुमान गरिएको लगानी रकमको आकार सानो छ, त्यसैले यी आयोजना स्वदेशी लगानीमै बनाउन सकिने प्रवक्ता लम्सालले बताए । ‘यी दुवै आयोजनामा जेजति लगानी अनुमान गरिएको छ, त्यो त्यति धेरै छैन,’ उनले भने, ‘त्यसैले स्वदेशी लगानीमै यो आयोजना बनाउन सकिन्छजस्तो लाग्छ ।’

के हो पम्प स्टोरेज आयोजना ?
पम्प स्टोरेज आयोजनामा विद्युत्गृह माथि र तल गरेर दुईवटा ड्याम हुन्छन् । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युत्गृहमा पानी खसालिन्छ । र, विद्युत्गृहबाट खेर जाने पानीलाई तल्लो ड्याममा जम्मा गरिन्छ । सोही तल्लो ड्याममा जम्मा भएको पानीलाई पम्प गरेर पुनः माथिल्लो ड्याममा पठाइन्छ । र, सोही पानीबाट पुनः बिजुली उत्पादन गरिन्छ । यो चक्र पूरा गर्दा औसतमा १० प्रतिशतसम्म पानी खेर जान सक्छ ।  

विदेशी मुलुकहरूमा यस्ता पम्प स्टोरेज आयोजना बने पनि नेपालका लागि भने यो नयाँ प्रविधि हो । यसअघि नेपाल विद्युत् प्राधिकरणले पनि कास्कीको बेगनास र रूपा ताललाई प्रयोग गरेर एक सय ५० मेगावाट र कुलेखानी ड्याम प्रयोग गरेर एक सय ५० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अघि बढाएको थियो । यी दुवै आयोजनाले विद्युत् विकासबाट सर्भे लाइसेन्स पनि लिएका छन् ।

 कुपिन्डे पम्प स्टोरेज 

बोर्डका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको मुख्य पर्यटकीय स्थलसमेत रहेको कुपिन्डे ताललाई प्रयोग गरेर सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउने प्रस्ताव गरिएको छ । जिल्ला सदरमुकाम खलंगाबाट २४ किलोमिटरको ग्रामीण सडकबाट उक्त ताल पुग्न सकिन्छ । तालको क्षेत्रफल ०.२३५ वर्ग किलोमिटर छ । त्यो ताल प्रयोग गरेर आयोजना बनाउँदा नौ करोड डलर लगानी लाग्ने अनुमान गरिएको छ । यो आयोजना बनाउँदा झन्डै ५.५ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ । आयोजनामा ५० मेगावाट क्षमताका दुई टर्बाइन राखिने प्रस्ताव गरिएको छ ।   

 स्यार्पु पम्प स्टोरेज 

रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पु ताललाई प्रयोग गरेर दुई सय मेगावाटको पम्प स्टोरेज बनाउने प्रस्ताव गरिएको छ । मुसिकोट बजारबाट ११ किलोमिटरको ग्रामीण सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ । उक्त तालको क्षेत्रफल २.६ वर्ग किलोमिटर रहेको छ । यो ताल प्रयोग गरेर आयोजना बनाउँदा १३ करोड ५० लाख डलर लगानी लाग्ने अनुमान छ । उक्त आयोजना बनाउँदा ३.५ हेक्टर जमिन चाहिने देखिएको छ । उक्त आयोजनामा सय मेगावाट क्षमताका दुई टर्बाइन राखिनेछ । 

आयोजना बनाउनुको मुख्य उद्देश्य 

  • विद्युत्को माग र उत्पादनलाई सन्तुलन राख्ने
  • बढी विद्युत् उपभोग गर्न
  • ग्रिडको स्थायित्व
  • आयोजना बन्दाको फाइदा 
  • हिउँदको समयमा हुने विद्युत्को माग र आपूर्तिमा सुधार आउने 
  • ग्रिड स्थायित्वमा सुधार आउने 
  • बढी हुने विद्युत्को उपभोग बढ्ने

सुझावित समाचार