सहिद परिवारलाई जीवनवृत्तिको व्यवस्था गर्ने सरकारको तयारी

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’ परिवारलाई मासिक तीन हजार जीवनवृत्ति उपलब्ध गराउने व्यवस्था हुँदै

सरकारले सहिद परिवारका लागि मासिक जीवनवृत्ति दिने गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिबापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ लाई मन्त्रिपरिषद्मा लगेर स्वीकृत गरी चुनावअघि नै जीवनवृत्ति वितरण गर्न लागिएको हो ।

कार्यविधिलाई अर्थ मन्त्रालयले समेत सहमति प्रदान गरिसकेकाले यो छिट्टै कार्यान्वयनमा लगिने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । स्रोतका अनुसार ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’ परिवारको मासिक तीन हजार रुपैयाँ जीवनवृत्ति उपलब्ध गराउने कार्यविधिको मस्यौदामा उल्लेख छ । 

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले यससम्बन्धी कार्यविधि निर्माणका क्रममा रहेको, तर यसको पछिल्लो अवस्थाबारे जानकारी नभएको बताए । माओवादी नेतृत्वमा भएको सशस्त्र द्वन्द्व तथा मधेस आन्दोलनमा मृत्यु भएकालाई समेत समेटेर यस्तो जीवनवृत्ति दिन लागिएको हो । यद्यपि, यो विषयमा सहमति भइसकेको छैन ।

‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’ भन्ने विषयको व्याख्या कसरी गर्ने भनेर अझै टुंगो नलागेको स्रोत बताउँछ । तर, अर्थ मन्त्रालयले भने ०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकालाई पनि यसमा समेट्नुपर्ने सर्तसहित कार्यविधिमा सहमति दिएको छ । आर्थिक वर्ष ०७८/७९ को बजेटमा टेकेर यस्तो कार्यविधि बनाउन लागिएको हो । 

जसअनुसार करिब १५ हजारले यस्तो जीवनवृत्ति पाउने र मासिक साढे चार करोड रुपैयाँ खर्च हुने गृहका एक अधिकारीले बताए ।  सामान्य किसिमका आन्दोलनमा संलग्न हुँदा मृत्यु भएकालाई पनि सरकारले सहिद घोषणा गरेका छन् । उनीहरूलाई पनि राजनीतिक आन्दोलनमा बलिदानी दिएको भनेर जीवनवृत्ति दिँदा यसको दुरुपयोग हुन सक्ने चिन्ता पनि गृहका अधिकारीको छ । 

कार्यविधिको विषयमा गृह मन्त्रालय नै टुंगोमा पुग्न सकेको छैन । ‘यो विषयमा उच्च तहमा छलफल चलिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने वास्तविक व्यक्तिका परिवारले यस्तो जीवनवृत्ति पाउँदा त ठीकै हो, तर दुरुपयोग नहोला भन्न सकिन्न ।’

सुझावित समाचार