आर्मी सेमिफाइनलमा

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबमाथि १३ रनको रोमाञ्चक जित निकाल्दै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा बुधबार महत्वपूर्ण जित निकालेको आर्मीले पाँच खेलबाट आठ अंक जोडेको छ । ६ अंकका साथ पुलिस उपविजेता बन्यो । पुलिस र कर्णाली प्रदेशले ६ अंक जोडेका छन् । रनरेटका आधारमा पुलिस अन्तिम चारमा पुगेको हो । 

पहिलो ब्याटिङ गरेको आर्मीले पाँच विकेट गुमाएर एक सय ७७ रन जोडेको थियो । पुलिसले आठ विकेटको क्षतिमा एक सय ६४ रन बनायो । पुलिसका लागि आरिफ शेखले २४ बलमा एक चौका र तीन छक्का प्रहार गरी ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ओपनर कुशल भुर्तेल ९ रन, अर्का ओपनर सुनिल धमलाले २७ रन र दिलीप नाथले २३ रनको योगदान गरे । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा पभेलियन फर्र्किए । 

बलिङमा आर्मीका स्पिनर साहब आलमले चार ओभरमा २४ रन खर्चेर दुई विकेट हात पारे । सोमपाल कामीले चार ओभरमा ४५ रन दिँदै दुई विकेट लिए । यसअघि, ब्याटिङ गरेको आर्मीका कप्तान विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा दुई चौका र सात छक्का प्रहार गरी नटआउट ६६ रनको योगदान दिएका थिए । म्यान अफ दी म्याच भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए । आर्मीका ओपनर अर्जुन साउदले ३४ बलमा सात चौका र दुई छक्कासहित ५३ रन बनाए । पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । 

बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता आर्मीले समूह ‘बी’को उपविजेता सुदूरपश्चिमको सामना गर्नेछ । अर्कोे सेमिफाइनलमा समूह ‘ए’को उपविजेता पुलिस र समूह ‘बी’को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ ।

सुझावित समाचार