डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।
निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या १२ हजार नाघ्यो
देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित भएका छन् । हाल उपत्यकासँगै तराईका जिल्लामा यसको संक्रमण तीव्र छ ।
काठमाडौं उपत्यकामा डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या ललितपुरमा छ । ललितपुरमा तीन हजार आठ सय तीन र काठमाडौंमा दुई हजार आठ सय आठजनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको मकवानपुरमा एक हजार तीन सय ३१ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा डेंगु फैलिएको छ । महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चारजना छन् ।
लुम्बिनीमा प्रदेशमा १ हजार चार सय ७९, सुदूरपश्चिम प्रदेशमा तीन सय ८०, प्रदेश १ मा चार सय दुईजनालाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशमा दुई सय ४५, मधेस प्रदेशमा दुई सय २३ र कर्णाली प्रदेशमा एक सय ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार डेंगु संक्रमणबाट सबैभन्दा धेरै उपत्यका प्रभावित बनेको छ । ‘अझै १५ दिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ,’ उनले भने, ‘पूरै जिउ छोप्ने गरी कपडा लगाउनुपर्छ ।’ उनले जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जाने भए पनि अझै केही दिन लामखुट्टेको टोकाइबाट डराउनुपर्नेछ ।