पछिल्लो समय काठमाडौं र तराईका धेरै जिल्लामा महामारीका रूपमा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिइसकेको छ । जो सन् २०१९ यताकै उच्च हो । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि सक्छ । त्यसैले चिकित्सकहरू यस रोगबाट सतर्क रहनुपर्ने बताउँछन् ।
यस्ता लक्षण
- डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर अत्यधिक दुख्ने हुन्छ ।
- जोर्नीहरू दुख्ने , पेट दुख्ने, जिउमा डाबर आउने, छाति दुख्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिन्छ ।
- केही मानिसमा अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन्छ ।
- केहीमा डायरिया हुने, कालो दिशा आउने, दिशामा रगत मिसिएर आउने लगायत समस्या देखिन्छ ।
- कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ ।
बच्न के गर्ने ?
- लाखुट्टेको टोकाइबाट बच्ने ।
- घरवरिपरि पानी जम्न नदिने । सरसफाइमा ध्यान दिने ।
- लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने ।
- राति सुत्दा झुल लगाएर सुत्ने ।
- औषधिहरू जथाभावी प्रयोग नगर्ने ।
- पानी धेरै खाने, अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुदाँ तीन–चार लिटर पानी बढी खाने ।
- धेरै मसाला, चिल्लो भएका खानेकुरा नखाने ।
- झोलिलो खानेकुरा प्रशस्त खाने ।
- डेंगु भइहालेमा नआत्तिने ।
- बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने ।
- लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने ।