सन् १९७६ मा क्यानडामा भएको ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट एथ्लेटिक्समा एकजना सहभागी हुन जितबहादुर केसी र वैकुण्ठ मानन्धरबीच छनोट प्रतिस्पर्धा भयो । उत्कृष्ट लयमा रहेका जितबहादुर अन्तिम समयमा पराजित भए । वैकुण्ठले ओलम्पिकमा प्रतिस्पर्धाको टिकट काटे । नेपाली एथ्लेटिक्स इतिहासकै कीर्तिमानी धावक वैकुण्ठले लगातार चारपटक ओलम्पिक खेलेको कीर्तिमानी राखेका छन् । वैकुण्ठले मोन्टेरियल ओलम्पिकमा सहभागिता जनाउँदा समयको रमाइलो स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए ।
क्यानडाको भिसा लिन न्युयोर्क पुग्नुपर्ने
क्यानडाको मोन्टेरियलमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्न सहज थिएन । सम्बन्धित निकायले केवल छनोट मात्र गरेको थियो । खेलाडीले पाउनुपर्ने सुविधा केही थिएन । क्यानडाको भिसा मिलाउन आफैँ गएको थिएँ । त्यसवेला क्यानडाको भिसा प्राप्त गर्न अमेरिकाको न्युयोर्क जानुपर्ने नियम थियो । न्युयोर्कमा भिसा लिनका लागि नेपालस्थित अमेरिकन दूतावासमा गएँ । दूतावासका अधिकारीले ‘तिमी क्यानडा जाने मान्छे रहेछौ, यहाँबाट कसरी भिसा दिन मिल्छ’ भनी फर्काइदिए । त्यसपछि राजदूतलाई भेटेर आफ्नो कुरा राखेँ । राजदूतलाई अमेरिकामा अभ्यास गर्ने भनी सुनाउँदा जिस्क्याउने जस्तो गरी हाँस्न थाले । राजदूतले अमेरिकाको भिसा मिलाइदिनुभयो । त्यसपछि अमेरिका जाने तयारी गरेँ ।
गन्जी र जुत्ताका साथ अमेरिका
न्युयोर्कमा पनि क्यानडाको भिसा कसरी लिने पटक्कै थाहा थिएन । जसरी पनि अमेरिका पुग्ने र भिसा लिने मात्र मनमा थियो । न्युयोर्क विमानस्थलमा धेरै अलमलमा परेँ । पासपोर्टमा एक सय ६० डलर मात्र उल्लेख थियो । मैले थप पाँच सय डलर बोकेको थिएँ । विमानस्थलका अधिकारीहरूले मेरो बारेमा सोधपुछ गरे । म नेपालबाट ओलम्पिक खेल्ने खेलाडी हुँ भनी उत्तर दिएँ । तर, म ओलम्पियन खेलाडी भनेर कसैले पनि पत्याएनन् । मैले पासपोर्ट देखाएँ । लगेजभित्र गन्जी, जुत्ता र केही कपडा मात्रै थिए । उनीहरूले थप पाँच सय डलर कसरी ल्याएको भनी प्रश्न गरे । मैले काठमाडौंको झोछेँमा डलर साटेको बताएँ । यो सुन्दा उनीहरू जिल्लाराम भए । मेरो पासपोर्टमा केवल एक सय डलर मात्र लेखेको थियो । थप पाँच सय डलर चर्चा नै थिएन । फेरि नेपालका सम्बन्धित निकायबाट वैकुण्ठ मानन्धरले ओलम्पिक खेल्ने भनी कुनै पत्र पनि मसँग थिएन । उनीहरूले मैले ढाँटेको जस्तो मनमा लिए । म भने एकोहोरो रूपमा ओलम्पिक खेल्न आएको खेलाडी हुँ र अमेरिकामा अभ्यास गर्छु भनिरहेँ । कुनै प्रमाण नभएका व्यक्तिलाई न्युयोर्क प्रवेश गराउन मिल्दैन भनी सुनाए । विमानस्थलबाटै नेपाल फर्काउने तयारी भयो ।
नेपाली खेलाडी अलपत्र भएको समाचार
विमानस्थलमा एक ओलम्पिक खेल्ने खेलाडी अलपत्र भनी स्थानीय टेलिभिजनमा आइसकेको रहेछ । मलाई त्यो थाहा थिएन । त्यो समाचार विमानस्थलका अधिकारीहरूले पनि हेरेका रहेछन् । उनीहरू त्यसपछि दबाबमा परे । मसँग आधिकारिक डकुमेन्ट थिएन । तर, म ओलम्पियन खेलाडी भन्ने उनीहरूलाई बिस्तारै आभास हुँदै गयो । न्युयोर्क प्रवेशको अनुमति दिने तयारी सुरु भयो । मैले न्युयोर्कमा कम्तीमा एक–दुई डलरमा बस्न मिल्ने लज कहाँ पाइन्छ भनी सोधेँ । त्यहाँ सबैभन्दा सस्तो कोठाको भाडा २५ डलर रहेछ । मेरा निमित्त दिनको ५०–६० डलर लाग्ने होटेल तयार भयो । मलाई लिन होटेलका कर्मचारी आए । मैले यतिका डलर तिर्न सक्दिनँ र दुई–तीन डलरमा होटेल खोजेको आग्रह गरेँ ।
त्यतिकैमा हिमालमा चढेका एकजना उपाध्याय भएका नेपाली विमानस्थलमा आउनुभयो । उहाँ राष्ट्रसंघको प्रतिनिधि हुनुहुँदो रहेछ । उहाँले मलाई वासिङटन डिसीमा लानुभयो । न्युयोर्क विमानस्थलमा भएको टिभीले लाइभ दिएको रहेछ । त्यही देखेर ती असल व्यक्तित्व उपाध्यायले मलाई लिन आउनुभएको रहेछ । उहाँले मलाई एकजना अमेरिकनका घरमा राख्नुभयो । ती अमेरिकनका घरमा मलाई भनेजस्तो केही मिलेन, कपडा पनि मिलेन । खानादेखि ट्वाइलेट जाने समस्या थियो । एक हप्ता मुस्किलले त्यहाँ बिताएँ ।
अभ्यासस्थल पुग्न हेलिकोप्टर
उनै अमेरिकनले मलाई अमेरिकाको युनिभर्सिटीमा अभ्यासको व्यवस्था मिलाउनुभयो । उहाँ यति धनी हुनुहुँदो रहेछ, अभ्यासस्थलसम्म पुर्याउन मलाई हेलिकोप्टरमै सवार गराउनुभयो । विश्वविद्यालयमा नेपालबाट ओलम्पिक खेल्न खेलाडी आउँदै छ भनी प्रचार भइसकेको रहेछ । मलाई फूलमालाले भव्य स्वागत गरे । नेपाल ठूलो र धनी राष्ट्र भन्ने उनीहरूलाई भान परेको रहेछ । विश्वविद्यालयको फिल्डमै जर्सी लगाएर अभ्यास गरेँ । पहिलो दिनमै मैले ५० राउन्ड लगाएँ । लगाएको गन्जीले नै पसिना पुछेँ । वास्तवमा त्यहाँ नुहाउने व्यवस्था थियो । मलाई लिन हेलिकोप्टर पर्खिरहेको रहेछ । ढिला होला भनी नुहाउने काम छिटो गरेँ । नुहाउने स्थानका दृश्यले म अचम्मित भएँ । त्यहाँभित्र सबै नग्न अवस्थामा नुहाइरहेका थिए । साबुन र टावेल भोलिलाई पनि चाहिन्छ भनी झोलामा राखेँ । त्यहाँका अधिकारीले भोलि अर्कै आउँछ । यो सबै डस्टबिनमा फ्याँक्नुपर्ने निर्देशन दिए ।
गाँजा होइन, गुन्द्रुक खुवाएँ
दुई महिना १० दिनपछि अमेरिकाबाट क्यानडातिर लागेँ । सीधै ओलम्पिक भिलेजमा छिरेँ । मेरा प्रशिक्षक संगिन राणा तयारी अवस्थामा थिए । उनलाई भिलेजमा छिर्न दिएनन् र पाँचतारे होस्टेलमा बस्न लगाए । मैले भिलेजमा बसेको एक दिनको १२ डलर तिरेँ । दैनिक १२ डलर खर्च हुँदा ‘मेरो बुबाको बिहे देखिसकेको थिएँ’ ओलम्पिक खेल्नुअघिसम्म मेरो दुई सय डलर खर्च गर्नुपर्ने अवस्था आइसकेको थियो । आर्थिक रूपमा ठूलो समस्या भयो । त्यसवेला कोचले नै सय डलर पर्ने एडिडासको ट्र्याकसुट दिए । त्यसवेला धेरैलाई म क्यानडामै बस्छु भनेर लिएको रहेछ । ओलम्पिक भिलेजमा मैले धेरै नाम चलेका विदेशी खेलाडीसँग संगत गरेँ । उनीहरूलाई नेपालबारे चिनाएँ । अचम्म के लाग्यो भने म नेपाली भन्नेबित्तिकै ‘तिमीसँग गाँजा छ ?’ प्रश्न गर्थे । नेपालमा जहाँत्यहीँ नै गाँजा पाइन्छ भन्ने भ्रम रहेछ । म नेपाली भएकाले नै मसँग गाँजा मागे । मैले गाँजा होइन, बरु गुन्दु्रक छ भनेर उत्तर दिन्थँे । उनीहरूलाई गुन्द्रुक खुवाएँ । उनीहरूले अमिलो मानेर खाए ।
प्यारापिटबाट हाम फाल्दै म्याराथन
प्रतियोगिताको दिन एकजना नेपाली अशोकले मेरो थोत्रो गन्जीमा हातले नेपाल लेखिदिए । प्रतिस्पर्धाको एक दिनअघि रिपोर्टिङ गर्नुपर्ने थाहा थिएन । प्राविधिक ज्ञान नभएका कारण म प्रतिस्पर्धाका दिन ट्र्याकमा नभएर प्यारापिटमा बसेको थिएँ । सबैको नाम लिँदै थिए । मेरो नाम नै आएन । दौड सुरु हुने वेला भइसकेको थियो । मेरो कलअप नै भएन । त्यसपछि प्यारापिटबाटै ट्र्याकमा हाम फालँे । पुलिसले दौडेर मलाई समाते । ‘आइएम फ्रम नेपाल, आई रन म्याराथन’ भनेँ । अर्कोतिर दर्शकले भने म नेपालबाट आएको एक मात्रै खेलाडी थाहा पाइसकेका थिए । दर्शकबाट ठूलो समर्थन प्राप्त गरेँ । लामो प्रयासपछि मेरो नाम इन्ट्री भयो । मेरो कारणले दौड निर्धारित समयभन्दा आधा घन्टापछि सुरु भयो । धेरैले मैले आधामै दौड त्याग्ने अनुमान लगाएका थिए । मोटरसाइकलबाट मेरो स्कटिङ भएको थियो । बीच–बीचमा पुलिसले तिमीले सक्छौ भनी हौस्याइरहे । जब म रंगशालाभित्र प्रवेश गरेँ, सबैले उठेर मेरो पक्षमा समर्थन गरे । स्वर्णपदक अर्कैले जितिसकेको थियो । तैपनि, रंगशालामा मेरो भव्य स्वागत भएको थियो । मैले टेलिसुज लगाएरै ५०औँ स्थान हात पारेँ । मैले दुई घन्टा ३० मिनेट ०७ सेकेन्डमा दौड पूरा गरेको थिएँ ।