वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको पुरुषतर्फको क्वार्टर फाइनलमा अस्ट्रेलियन निक किर्गियोस २७औँ वरीयताका रसियन खेलाडी काचनोभसँग ७–५, ४–६, ७–५, ६–७ र ६–४ को सेटमा स्तब्ध भए । यो खेल तीन घन्टा ३९ मिनेटसम्म चलेको थियो । किर्गियोस पुरुषतर्फका उपाधि दाबेदार खेलाडी थिए ।
आफूभन्दा कम वरीयताका खेलाडीसँग पराजित हुँदा किर्गियोसले पत्याउन सकेनन् । खेलको अन्तिम नतिजा आएपछि रसियन खेलाडीसँग उनले हात मिलाउँदै बधाई दिए । भित्री मनदेखि उनले हारलाई स्वीकार गर्न सकेनन् । उनले ब्यागबाट एउटा र्याकेट निकाली भुइँमा बजारे । यतिले नपुगेर उनले पुनः दोस्रो र्याकेट भुइँमा फ्याँके ।
दुवै र्याकेट दुई टुक्रा भएका छन् । त्यसपछि मन शान्त बनाएका किर्गियोस रंगशालाबाट बाहिरिए । आयोजक युएस ओपनले किर्गियोसको यस्तो किसिमको व्यवहारलाई उचित मानेको छैन । तत्कालै अनुशासन कमिटीको बैठकले किर्गियोसलाई कोर्टमा गरेको अभद्र व्यवहारप्रति १४ हजार पाउन्ड जरिवाना तिराएको छ ।
किर्गियोसले स्पोर्टस् बक्स कर्नरमा आपत्तिजनक शब्द प्रयोग गर्दै खराब खेल खेलेको जनाएका छन् । उनले भनेका छन्, ‘यस्तो खेल मबाट हुन सक्दैन,’ उनले भने, ‘धेरै नराम्रो शब्द प्रयोग गर्न मन लागेको छ ।’ यस सिजनमा उनले ग्रान्डस्लाम खेलबाट चार लाख ७३ हजार दुई सय पाउन्ड कमाएका छन् । यस वर्ष उनी विम्बल्डन टेनिसका उपविजेता बनेका थिए ।