डिजिटलाइजेसनमा जान नेपाललाई अजरबैजानको सुझाव

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

नेपालका लागि अजरबैजानका गैरआवासीय राजदूत  डा. असरफ सिखालियेभले अजरबैजानले जस्तै नेपालले पनि डिजिटलाइजेसन र डिजिटल गभर्नेन्सको विकास गर्न सक्ने बताएका छन्। नेपाल उद्योग परिसंघद्वारा आयोजित नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ को तेस्रो सत्रलाई सम्बोधन गर्दै राजदूत सिखालियेभले डिजिटलाइजेसनमा जोड दिएका हुन्।

‘डिजिटल इन्फ्रास्ट्रक्चर एन्ड टेक्नोलोजी इमिग्रेसन : लिपफ्रगिङ अपर्च्युनिटिज’ विषयमा राजदूत सिखालियेभले मन्तव्य दिएका थिए। उनले डिजिटलाइजेसन र डिजिटल गभर्नेन्सबाट सर्वसाधारणको जीविकोपार्जनमा सहजता आउने र अर्थतन्त्रमा समग्र रूपमा परिवर्तन आउने पनि बताए। उनका अनुसार डिजिटलाइजेसनका कारण अजरबैजान एक घन्टाभित्र भिसा प्राप्त गर्न सकिने सबैभन्दा आकर्षक गन्तव्य भएको छ।

भिसाका लागि ३० दिनको अनलाइन आवेदन हुनेछ। ड्राइभिङ लाइसेन्स पनि पाँच मिनेटमा लिन सकिने, फर्म दर्ताको काम दुई दिनभित्र सम्पन्न हुने उनको भनाइ थियो। ‘यी सबै प्रक्रिया कुनै भ्रष्टाचारविना पारदर्शी रूपमा सम्पन्न हुने भएकाले डिजिटलाइजेसन र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्नु आवश्यक छ,’ उनले भने। राजदूतले नेपालले प्रविधिमैत्री द्रुत आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा पनि जोड दिएका छन्।

सुझावित समाचार