संस्कृतमा एउटा लाइन छ–
उद्यमेनहि सिध्यन्ति कार्याणि न मनोरथैः
नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः
अर्थात्, जसरी सुतेको भोको सिंहको मुखमा मृग आफैँ आएर पस्दैन, त्यसैगरी केवल इच्छा गर्नाले मात्रै सफलता प्राप्त हुँदैन । अतः कार्यसिद्धिका लागि उद्यम गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ । ‘के तिमी पागल छौ ?’ ‘साँच्चै हो र ?’ ‘यो काम एकदमै कठिन छ’, जब कोही मान्छे बिजनेस सुरु गर्नेबारे आफ्नो योजना साथीभाइ, इष्टमित्र आदिलाई सुनाउँछ, उसले अपवादबाहेक यिनै शब्दहरू सुन्छ । त्यसो त उनीहरूले भनेका कुरा गलत पनि होइनन् । तर, यसको अर्थ यो पनि होइन कि उनीहरूको आलोचनाले तपाईंलाई सफल उद्यमी बन्नबाट रोक्छ । त्यही कुरालाई लक्षित गरी यहाँ सातवटा टिप्स दिइएको छ :
सम्पर्कसूत्र नघटाउनुस्
जब तपाईंले आफ्नो बिजनेस सुरु गर्न थाल्नुहुन्छ, यसमा विभिन्न कारण हुन सक्छन् । सायद तीमध्ये एउटा कारणचाहिँ आफूले भनेजस्तो ठाउँमा जागिर पाउन चिनजान वा भनसुन नभएर पनि हुन सक्छ । दुर्भाग्य ! आफ्नै बिजनेस गर्नु भनेको अरू मान्छेको रिक्तता पूर्ति होइन । सम्भवतः तपाईंलाई पार्टनर चाहिन सक्छ, जसले कम्तीमा बिजनेसबारे केही सुझाव–सल्लाह दिन सकोस् । त्यसैले कुनै व्यक्ति काम लाग्दैन भनेर तपाईंले आफ्नो सम्पर्कसूत्रलाई नघटाउनुहोस्, बचाइराख्नुस् ।
छोड्छु नभन्नुहोस्
तपाईंलाई आफ्नो रुचिले डोर्याएर नै यहाँसम्म ल्याएको हुन्छ । तर, बिजनेस सुरु गर्न अझै पनि पर्याप्त समय छ भन्ने ठानेर आफूलाई जे गर्दा खुसी मिल्छ, त्यही गर्नुहोस् । किनकि, बिजनेस गर्न गाह्रो अवश्य हुन्छ । कामले तपाईंलाई थकाइदिन सक्छ । त्यसैले आराम गर्नुपर्छ भन्ने निश्चित गर्नुहोस् । फोन र मिटिङमा थोरै समय मिल्यो भने पनि आफूलाई अलिकति आनन्दको सास लिन दिनुहोस् । यो आवश्यक पनि छ । आरामले कहिल्यै पनि उत्पादनशीलतालाई ह्रास गर्दैन । अतः अरूको यस्तो कुराको विरोध गर्नुहोस् । एउटा व्यवस्थित समय र आरामले तपाईंमा पुनः ऊर्जा सञ्चार गरिदिन्छ भने बाँकी रहेका काम पनि अझै तीव्र रूपमा सम्पन्न गर्न सहयोग पुर्याउँछ ।
निरन्तरता दिनुस्
जब तपाईंले आफैँ बिजनेस गर्नुहुन्छ भने त्यहाँ गर्न सकिने अरू थुप्रै काम हुन सक्छन् । तपाईं सधैँ काम गरिरहनुहुन्छ । कसैले तपाईंलाई यस्तो गर् वा उस्तो गर् भनेर बाँध लगाउन सक्दैन । यस्तो अवस्थामा आफैँलाई जतिवेला पनि काम गरिरहेको पाउनुहुन्छ । ‘यो गर्नु हुँदैन’ भनेर आफैँलाई लगाम लगाउने रेखा कोरेर कामकाजी दिनमा मज्जासँग काम गर्नुहोस् । कतिपय दिनमा तपाईंले पूर्वनिर्धारित समयभन्दा छिटो वा ढिलो गरी काम गर्नुपर्ने हुन्छ । यदि सक्नुहुन्छ भने भेटघाट र परामर्शजस्ता कामलाई आफ्नो कार्य–समयमा सेड्युल गर्नुहोस् । त्यस्तै, कुनै दिन अबेर रातिसम्म काम गर्नुपर्यो भने अर्को दिन निर्धारित समयमै सक्ने प्रतिबद्धता गर्नुहोस् ।
जब कोही मान्छे बिजनेस सुरु गर्नेबारे आफ्नो योजना साथीभाइ, इष्टमित्र आदिलाई सुनाउँछ, उसले अपवादबाहेक ‘यो काम एकदमै कठिन छ’ जस्ता शब्दहरू सुन्छ
सबैसँग कुनै न कुनै विचार हुन्छ भन्ने मनन गर्नुस्
तपाईंको घरमा बच्चाबच्ची छन् भने राम्रोसँग थाहा पाउनुभएको होला कि सबैसँग भन्नुपर्ने केही न केही कुरा छन् । यही कुरा तपाईंको बिजनेसमा पनि लागू हुन्छ, यसलाई मनन गर्नुहोस् ।
पैसाका लागि भन्नुस्
बिजनेस सुरु गरिरहँदा कि तपाईंले पर्याप्त बजेट छुट्याउनुभएको हुन्छ कि भने आफूलाई चाहिने ऋणलाई बेवास्ता गरिरहनुभएको हुन सक्छ । तर, तपाईंले पैसाका लागि बोल्नुपर्ने, भन्नुपर्ने हुन्छ । यो नै नवप्रवर्तनको विश्वसनीयता हो । पैसाबारे सोधिहाल्नु सजिलो काम भने होइन । झन् एउटैसँग धेरै माग्नु त अझ कठिन काम हो भन्ने लाग्न सक्छ । तर, यसका लागि आफूलाई दोषी नसोच्नुहोस्, माग्नुहोस् । एउटै व्यक्तिसँग पैसा माग्दा कसरी र कहाँ प्रयोग हुन्छ बताउनुहोस् । यस्तै, मागेको पैसा प्रयोग गर्ने तरिका र कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाउनुहोस् । यसो गर्दा तपाईं स्वयंलाई सहज हुन्छ ।
ग्राहकका लागि डबल डिप
धेरैजनाले आफ्ना साथीभाइ र आफन्तहरू पहिलो ग्राहक बन्छन् भन्ने सोच्छन् । यसमा जम्मा २० प्रतिशत मात्रै सत्यता हुन सक्छ । यसको मतलब तपाईंले उनीहरूलाई गनेर बिजनेसको मूल्यांकन गर्न हुँदैन । तपाईंले डिजिटल र परम्परागत बजारमा लगानी गर्नुपर्छ । यी माध्यमबाट जहाँ गए पनि आफ्नो बिजनेसको प्रमोट गर्न सक्नुहुन्छ । धेरैजसो साना व्यवसायले साना नवप्रवर्तनमा यथेष्ट पैसा खर्च गरेका हुन्छन् । तर, विज्ञापन गर्न भने बिर्सन्छन् । बिजनेसको महत्वपूर्ण अंग भनेको विज्ञापन नै हो । यसर्थ, बजेटको १० प्रतिशत विज्ञापनमा खर्च गर्नुहोस् ।
पुनः लगानी
आफूले गरिरहेको बिजनेस पहिलोपटक नाफामा जाँदा हरकोही उत्साहित हुन्छ । सधैँ भाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन तनाव भइरहेका वेला जब बिजनेसले नाफा दिन थाल्छ, बुझ्नुस्– सञ्चालनमा उपलब्धि हासिल भयो । आफूले निकालेको नाफाबाट आफ्ना लागि वा पसलका लागि केही नयाँ गरौँ भन्ने लाग्न सक्छ । तर, यसलाई एकछिन रोकेर कसरी पुनः लगानी गर्ने भन्ने सोच्नुस् त !