तरकारी खेती गर्न जग्गाजमिन नै आवश्यक पर्छ भन्ने छैन । इच्छा र जाँगर भएमा घरको कौसीमा पनि तरकारी फलाउन सकिन्छ । पछिल्लो समय सहरका घरका कौसीमा पनि हरियाली देखिन थालेको छ ।
सहरी क्षेत्रमा खेतीयोग्य जमिनको अभाव भएकाले अधिकाशंले विकल्पमा कौसी खेतीलाई लिएका हुन् । कौसी खेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ ।
माटोको व्यवस्थापन यसरी गर्नुस् ?
सिमेन्ट, बालुवालगायत मिसियो भने माटो एकढिक्का भएर बस्छ र बिरुवा फैलन पनि सक्दैन । माटो मात्रै प्रयोग गर्दा किरा पर्न सक्छ । धेरैले बिरुवा रोप्नका लागि माटोसँग कोकोपिट मिसाउने गरेका छन् । कोकोपिट नरिवलको जट्टाको धुलो हो । यसमा कम्पोस्ट मल वा अर्गानिक कम्पोस्ट मल मिश्रण गरेर प्रयोग गर्न सकिन्छ । अर्काे, घरमै ढुटो, भुस पनि प्रयोग गर्न सकिन्छ ।
गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । बजारमा बिरुवा रोप्नका लागि ‘ग्रो ब्याग’ पनि पाइन्छ । बिरुवा कतिसम्म झाँगिन्छ वा ठूलो हुन्छ, त्यहीअनुरूप बिरुवा रोप्ने भाँडाको प्रयोग गर्नुपर्छ ।
यस्ता बिरुवा रोप्नुस्
कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्न सल्लाह दिएका हुन्छौँ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौला, धनियाँ, मेथी, चना, पालुङ, लसुन, रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्नका लागि पैसा बचत हुन्छ ।
हेरचाह यसरी गर्ने
बिरुवा रोपेर मात्रै हुँदैन । यसलाई हेरचाह पनि उतिकै महŒवपूर्ण हुन्छ । कौसीमै राख्दा तापक्रम एकदमै धेरै हुन्छ । तापक्रम धेरै भयो भने बिरुवालाई पनि असर गर्छ । त्यसका लागि स्छट्यान्ड बनाएर राख्नुपर्छ । स्ट्यान्डमाथि सकेसम्म टनेल पनि बनाउँदा राम्रो हुन्छ । तापक्रम ब्यालेन्सका लागि बजारमा ‘वाटर पु्रफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । गर्मी र जाडोमा यसले इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र हरियो र ताजा तरकारीको मजा पनि लिन सकिन्छ ।
घरमै मल उत्पादन गर्न सकिन्छ
घरबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गर्नुपर्छ । चिल्लो र अमिलो हुने कागतीजस्ता फोहोर हाल्नुहुँदैन । माछा–मासु हाल्न हुँदैन । बजारबाट मल किन्न पनि पर्दैन । अहिले सहरी क्षेत्रमा फोहोरको व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको छ । त्यस्तो फोहोरलाई कौसीमा प्रयोग गरेर तरकारी उत्पादन गर्दा दोहोरो फाइदा हुन्छ ।