मैले सानैदेखि चेस खेल्दै आएको छु र अहिले पनि यही खेलमा सक्रिय छु । झन्डै आठ वर्ष राष्ट्रियस्तरका प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेँ । चेसका नियम सिक्न सुरुमा केही अप्ठ्यारो हुन सक्छ ।
तर, जानिसकेपछि यो खेल निकै रमाइलो लाग्छ । प्रतियोगिताका केही निश्चित मापदण्ड भए पनि घरमै बसेर खेल्नका लागि साधारणतया तपाईंले एउटा बोर्ड र गोटी मात्रै पनि किने पुग्छ । अन्य खेलजस्तो ठूलो समूहको जरुरी पनि पर्दैन, केवल एकजना साथी भए खेल्न मिल्छ । कहिलेकाहीँ आफैँ गोटी चालेर एक्लै पनि खेल्न सकिन्छ ।
आजभोलि त कम्प्युटर र मोबाइलसँग पनि चेस खेल्न सकिन्छ । यस खेलले मानिसको दिमागलाई ‘स्मार्ट’ बनाउँछ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्छ । कुनै समाधान नै नभएको घडीमा पनि शान्त र धैर्यपूर्वक सोचेर नयाँ स्टेप चाल्न सक्नु तथा प्रतिस्पर्धीको चाल बुझ्न सक्नु चेस खेलाडीको खुबी हो । व्यक्तिगत जीवनमा पनि यो लागू हुन्छ । यसले समस्या समाधान गर्ने तपाईंको खुबी बढाइदिन्छ । कहिलेकाहीँ कुनै तरिकाबाट ननिस्किएको समस्याको समाधान केही समय सोचेपछि आफैँ निस्कने गरेको अनुभव मसँग छ । यस्तो धैर्य मलाई चेसले नै सिकाएको हो ।
चेसले सोच्ने क्षमता बढाइदिन्छ । एउटा सकारात्मक दृष्टिकोण विकास गर्छ, तपाईंको स्मरणशक्ति बढाउँछ, ध्यानलाई गहिरो पार्छ र सिर्जनशीलता बढाउँछ । योजना बनाउने खुबीलाई पनि यसले तिर्खाछ । सारमा, तपाईमा एउटा अलग जागरण ल्याउँछ ।
अहिलेको समय बालबालिकाहरूलाई चेस खेलाउन निकै आवश्यक छ भन्ने लाग्छ । किनकि, बच्चादेखि नै उनीहरूको मानसिक वृद्धि विकास, समस्या–समाधान गर्ने खुबी र सोच्ने क्षमता अभिवृद्धि गर्न सकियो भने भविष्यमा देशमा राम्रो जनशक्ति उत्पादन हुनेछ । मेरो मान्यता हरेक स्कुलले साताको कम्तीमा एक घन्टा चेसका लागि छुट्याउनुपर्छ भन्ने हो ।
आजभोलि विद्यार्थीहरू विभिन्न अनलाइन खेलको लतमा फसेका छन् । त्यस्ता खेलले बच्चाको मानसिक स्वास्थ्यमा प्रतिकूल असर गरेको कुरा आइरहेकै छ । तर, चेस फरक छ । चाहे साथीहरूसँग खेल्नुस् वा एक्लै कम्प्युटर वा मोबाइलमा खेल्नुस्, जहाँसुकै खेले पनि यसले नकारात्मकताबाट टाढा राख्छ र फ्रेस गराउँछ । चेसले समाजमा घुलमिल हुने तथा सम्बन्ध विकास गर्ने क्षमता अभिवृद्धि गर्छ ।