तिब्बतका विभिन्न सहरमा आठ अगस्टदेखि लगाइएको लकडाउन जारी छ । राजधानी ल्हासा सहर, सिगात्से, मिम्बु र नेपाल–चीन सीमाक्षेत्र केरुङ र खासामा कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनजीवन ठप्प छ । तिब्बत अटोनमस रिजनका वाणिज्य विभागमा कार्यरत कर्मचारी दुई हप्तादेखि आइसोलेसनमा छन् । व्यापारिक क्षेत्रका सबै निकाय बन्द भएकाले ट्रान्सपोर्टका सबै साधन पनि बन्द छन् ।
ल्हासास्थित वाणिज्य विभागका कर्मचारीको भनाइ उद्धृत गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले चाडपर्वलक्षित सामान उत्तरी नाका भएर दसैँअघि आयात अब सम्भव नरहेको बताए । दसैँलगायत चाडबाडलक्षित सामान तिब्बत क्षेत्रमा रोकिएका छन् । झन्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । त्यसैले चिनियाँ व्यापारीले सुरक्षा सावधानी अपनाएर भए पनि उत्तरी नाका खुलाउन सरकारलाई दबाब दिइरहेका छन् ।
बस्नेतका अनुसार दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका छन् । मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् । तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मेनल्यान्डबाट ल्हासा आउने ट्रान्सपोर्टको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको चिनियाँ व्यापारीको भनाइ उद्धृत गर्दै बस्नेतले जानकारी दिए । ‘दसैँका लागि ल्याइएको सामान नआइपुग्दा पनि बजारमा सामग्रीको अभाव हुँदैन । तर, खरिद क्षमता घट्दा आर्थिक गतिविधि प्रभावित हुने अवस्था छ,’ ब्याज, गोदाम चार्ज र ढुवानीमा भइरहेको ढिलाइले व्यापारी वर्ग मर्कामा परेको बताउँदै उनले भने, ‘उत्तरी नाका अस्थिर हुँदा सिजनेबल सामानको मूल्य वृद्धि भएको छ ।’ औद्योगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र ठूला सामान भारतको कोलकाता र बिशाखापटनम बन्दरगाहबाट निरन्तर आयात भइरहेको उनले प्रस्ट्याए ।
चीनका विभिन्न व्यापारिक सहरबाट नेपाल आयात हुने सिजनेबल सामान तातोपानी र रसुवागढीबाट १५–२० दिनमा काठमाडौं आइपुग्छ । ठूला र औद्योगिक क्षेत्रका सामग्री भारत हुँदै ४५–६० दिनमा नेपाल भित्रिन्छ । अहिले तातोपानी र खासामा मानवीय चहलपहल शून्य छ । चीन सरकारका कुनै पनि प्रतिनिधिबाट औपचारिक जानकारी केही नदिइएकाले २५ साउनबाट बन्द तातोपानी भन्सारमा थोरै कर्मचारी मात्रै बसेका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चिनियाँ पक्षबाट नाकासम्बन्धी कुनै औपचारिक जानकारी नआएको बताए । यद्यपि, सुरक्षा प्रोटोकल अपनाएर नाका खोल्न चिनियाँ प्रतिनिधिले ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए ।
दसैँका सामग्री बोकेका कन्टेनर मात्रै नेपाल पठाउन केरुङ नाका केही दिन खुलाउने सम्भावना रहेकाले तातोपानीपट्टि आएका कन्टेनरलाई मिम्बु फर्काउन लागेको व्यापारीहरू बताउँछन् । आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि लोन दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेका छन् ।