संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा प्रहरी हिरासतमा रहेका गुरुङ सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङकी श्रीमती लक्ष्मी गुरुङले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन हालेकी छिन्। निवेदनमाथि सर्वाेच्चले मंगलबारका लागि पेसी तोकेको छ।
प्रक्रिया पुर्याएर गृह मन्त्रालयले रिहा गर्न भनेकाे गुरुङविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा मन्त्री श्रेष्ठका अंगरक्षकले अभद्र व्यवहार कसुरअन्तर्गत जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनी शुक्रबार बिहान पक्राउ परेका थिए। उनीविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद थप गरेपछि गुरुङ प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन्।
गुरुङको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन बोकेर उनकी श्रीमती लक्ष्मी सोमबार सर्वाेच्च पुगेकी थिइन्। रिट निवेदनमा मंगलबारका लागि पेसी तोकिएको गुरुङ सेक्युरिटिजका प्रमुख प्रशासकीय अधिकृत अभिषेक कार्कीले जानकारी दिए।
यता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। यसअघि प्रहरी वृत्त दरबारमार्गको एक प्रहरी निरीक्षक र असइलाई जिम्मेवारीबाट हटाइएको छ। कार्यालय प्रमुख एआइजी रवीन्द्र धानुकले घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको र प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको जानकारी दिए।
धानुकले भने, ‘दरबारमार्ग घटना छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन गरिएको छ। वृत्तका एक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट तानिएको छ। समितिले प्रहरीको आन्तिरक विषयमा छानबिन गर्नेछ।’
प्रहरी हिरासतमा रहेका गुरुङलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए। गुरुङसँग बसेर खिचेको फोटो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। हिरासतमा भएका व्यक्तिको फोटो खिचेको विषयमा पनि समितिले छानबिन गर्नेछ।