प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ ।
केहीबेरअघि सकिएको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले सर्वसम्मत रूपमा प्रचण्डको नाम सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए ।
प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । आगामी निर्वाचनका लागि उनको नाम गोरखा–१ बाट पनि सिफारिस भएको छ । प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने बताउँदै आएका छन् ।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीनजना र ३ (ख) मा गोपाल न्यौपानेसहित आठजनाको नाम सिफारिस भएको छ ।
न्यौपाने तत्कालीन नेकपा माओवादीका बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन् । उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा माथिल्लो तहका माओवादी नेता हुन् ।