नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरूबीच सिट बाँडफाँडको टुंगो लागिसकेको बताएका छन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका प्रचण्डले गठबन्धन दलहरूबीच संघीय र प्रदेशस्तरीय चुनावका लागि सिट बाँडफाँड भइसकेको बताएका हुन् ।
गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको हिजो (बिहीबार) अबेरसम्म छलफल भएको र गठबन्धन दलहरूबीच सिट बाँडफाँड अन्तिम चरणमा एक–दुई दिन छलफल गरेर टुंगोमा पुगिने अध्यक्ष प्रचण्डले जानकारी दिए । ‘हामीले गठबन्धन दलहरूबीच सिट बाँडफाँडको अन्तिम टुंगो एक–दुईभित्र हल हुन्छ,’ उनले भने, ‘एक प्रकारको सहमति भइसकेको छ।’
संघ र प्रदेशमा प्याकेजमा नै सहमति गर्ने गठबन्धन दलको समझदारी भएको अध्यक्ष प्रचण्डले बताए । एकीकृत समाजवादी आफ्नो चुनाव चिह्नमा चुनाव लड्ने, बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिह्नबाट चुनाव लड्ने एकीकृत समाजवादीसँग चाँडै पार्टी एकता हुने प्रचण्डले बताए । उनी आफू भने संघीय चुनावमा चितवन– ३ बाट चुनाव लड्ने उल्लेख गरे । ‘एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग मेरो कुनै तुलना हुँदैन,’ उनले भने, ‘नेकपा एमालेसँग चुनावमा गठबन्धन गराएर जाने विषय असम्भव छ ।’
एमालेले विगतका गल्तीको समीक्षा गर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘एमालेसँग हामीले भन्दै आएकाे कुरा के हो भने विगतका संसद् विघटनदेखि अन्य सबै कामको आत्मसमीक्षा गर्न आवश्यक छ,’ उनले भने, ‘त्यो नभएसम्म एमालेसँग कुनै सहकार्य हुने सम्भावना छैन ।’