१० क्षेत्रमा २९ जना प्रस्ताव, चार क्षेत्रबाट सर्वसम्मत
एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बुधबारको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी समिति सदस्यद्वय डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ तथा काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायतलाई उम्मेदवार बनाउने गरी एमालेले काठमाडौंमा उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । काठमाडौंका चार निर्वाचन क्षेत्र २, ३, ५ र ८ मा सर्वसम्मत उम्मेदवारको नाम सिफारिस भएका छन् । बाँकीमा भने एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।
काठमाडौं– ५ बाट विजयी पोखरेलको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । तर, अघिल्लोपटक काठमाडौं– ८ (क) बाट प्रदेश सभा सांसद बनेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम भने त्यस क्षेत्रबाट सिफारिस भएको छैन । उनको क्षेत्रबाट एमालेले राजेश शाक्यलाई अगाडि सारेको छ । उपाध्यक्ष शाक्यले आफू समानुपातिकबाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेकी छिन् । त्यस्तै, काठमाडौं २ बाट मणिराम फुँयाल, ३ बाट कृष्ण राई र ८ बाट शाक्यको नाम सर्वसम्मत सिफारिस भएको छ ।
काठमाडौं १ बाट काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको नाम सिफारिस भएको छ । २ बाट प्रदेश सभा (ख)का प्रदेश सभा सदस्य मणिराम फुँयालको मात्र नाम सिफारिस भएको छ । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएको क्षेत्र हो । एकीकृत समाजवादीले नेपालकै नाम एकल रूपमा अगाडि सारेकाले एमालेले पनि फुँयाललाई सर्वसम्मत रूपमा अगाडि सारेको छ । त्यस्तै, ३ बाट प्रतिनिधिसभा सांसद कृष्ण राईको मात्र नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश सभा सांसद रामेश्वर फुँयाल पुनः प्रदेशमै उठ्न तयार भएपछि पार्टी पोलिटब्युरो सदस्य तथा काठमाडौंका सहइन्चार्ज राईको नाममा सर्वसम्मति भएको हो ।
त्यस्तै, ४ बाट स्थायी समिति सदस्य डा. भट्टराईसँगै काठमाडौंका पूर्वअध्यक्ष निर्मल कुइँकेलको नाम पनि सिफारिस भएको छ । ५ बाट वरिष्ठ उपाध्यक्ष पोखरेलको मात्र नाम एकल रूपमा सिफारिस भएको छ । जिल्ला अध्यक्ष दीपक निरौला र प्रदेश सभा सांसद नारायण सिलवालसमेतको समर्थनमा एमालेले पोखरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको हो ।
त्यस्तै, ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ । ७ बाट स्थायी समिति सदस्य रघुजी पन्त र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यसहित इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । ८ बाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ । ९ बाट स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्वमेयर विद्यासुन्दर शाक्य र अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ । त्यस्तै, १० बाट पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठसहित शरब महर्जन, रमेश महर्जन र शम्भुराम महर्जनको नाम सिफारिस भएको छ ।
पोलिटब्युरो सदस्य तथा काठमाडौंका सहइन्चार्ज कृष्ण राईले छिटो उम्मेदवार छनोट प्रक्रिया सुरु गरेर देशभर जितका लागि चुनावी अभियान सुरु भएको सन्देश दिइएको बताए । ‘हामी सुगम ठाउँमा पनि छौँ, त्यसैले पार्टी केन्द्रले निर्देशन दिनेबित्तिकै देशभर जितका लागि चुनावी अभियान सुरु भएको सन्देश दिनका लागि हामीले छिटो उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका हौँ,’ राईले भने ।
एमाले काठमाडौंले २२ भदौभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन केन्द्रीय कमिटीले दिएको निर्देशनअनुसार १९ भदौमा जिल्ला कमिटीको बैठक राखेर प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार तथा १७ भदौमा प्रदेश सभाका उम्मेदवारहरू सिफारिस गर्ने कार्यतालिका बनाएको छ । ११ भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट प्रक्रिया, मापदण्ड र कार्यतालिकाको निर्णय गरेलगत्तै एमाले काठमाडौंले तत्काल उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको हो । ०६४ बाहेक बहुदलपछिका निर्वाचनमा काठमाडौंमा राम्रो नतिजा ल्याउँदै आएको एमालेका लागि सत्तारूढ गठबन्धन एक ठाउँमा उभिएका कारण आगामी निर्वाचन भने साख जोगाउने चुनौती छ । त्यही चुनौती महसुस गर्दै छिटो उम्मेदवार छनोट गरेर चुनावी अभियान बढाउने गरी प्रक्रिया सुरु गरिएको एमाले काठमाडौंले जनाएको छ ।