प्रशिक्षकले नियम उल्लंघन गर्दा एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

गत जेठ अन्तिम साता कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोट प्रतियोगिताका दौरान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए । लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए । एसियन फुटबल फेडेरेसन (एएफसी)को नियम उल्लंघन गर्दै अब्दुल्लाह नेपाली टोलीसँगै ‘ड्रेसिङ रुम’मा पुगे ।

यही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ । एएफसीले धारा २१.१ अनुसार नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको छ ।

दुई खेलमा पहेँलोकार्ड पाइसकेका मुख्य प्रशिक्षक अब्दुल्लाह  खेलाडीसँगै ड्रेसिङ रुमभित्र प्रवेश गरेपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई ६ हजार डलर जरिवाना तिराएको छ 

इन्डोनेसियाविरुद्ध पहिलो हाफ १० खेलाडीमा सीमित भएपछि दोस्रो हाफको सुरुमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफ सुरु गर्न ढिला गरेको जनाउँदै एएफसीले नेपालमाथि अर्काे थप कारबाही गरेको छ । 

एएफसीले अब्दुल्लाहले नियम उल्लंघन गरेको घटनालाई आधार मान्दै ६ हजार अमेरिकी डलर दण्डित गरेको छ । यस्तै, खेल ढिला गरेकोमा नेपाललाई एक हजार अमेरिकी डलर जरिवाना तिराएको छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दुवै घटनाअनुसार ९० दिनभित्र एन्फाले १७ सय डलर जरिवाना तिर्नुपर्नेछ । बाँकी दुई वर्षको अवधिलाई तोकिएको छ । 

यद्यपि, एएफसीले एन्फालाई यस्ता प्रकृतिको घटना दुई वर्षभित्र नदोहोरिए सो रकम फेरबदल हुने जानकारी दिएको छ । कुवेत सिटीमा भएको खेलमा नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा कुवेतसँग ४–१ र अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।   

प्रशिक्षकको अपरिपक्वताले कारबाही 
एन्फा प्रवक्ता शाहले प्रशिक्षक अल्मुताइरीको अपरिपक्वताको निर्णयका कारण देशलाई जरिवाना परेको र बदनामी भएको बताए । नयाँ पत्रिकासँग बोल्दै उनले भने, ‘जान नपाउने स्थानमा प्रशिक्षक जानुभयो । जसका कारण जरिवाना परेको छ,’ उनले भने, ‘प्रशिक्षकको अपरिपक्वताको निर्णयले देशलाई जरिवाना पनि पर्यो र बदनामी पनि भयो ।’

See More On

सुझावित समाचार