टिआरसी विधेयक छलफलका लागि संसदीय समितिमा पठाइने

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण
टिआरसी विधेयक छलफलका लागि संसदीय समितिमा पठाइने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दी

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय समितिमा जाने भएको छ । प्रतिनिधिसभामा सोमबार सैद्धान्तिक छलफल भएको विधेयक दफावार छलफलका लागि कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाइने भएको हो । खासगरी माओवादीले समितिमा पठाएर छलफल गर्नुपर्ने धारणा राखेको थियो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले विधेयक समितिमा पठाउने अधिकार संसद्को रहेको बताए । तर, समितिमा लगेर विधेयक अल्झाउन नहुने धारणा आफूले राखेको उनको भनाइ छ । ‘समितिमा धेरै समय नलगाउने, तर छलफलमा लाने कुरा भएको छ,’ उनले भने । 

समिति सभापति कृष्णभक्त पोखरेलले विधेयकमा रहेको दुईवटा विषयमा समितिमा गहन छलफल हुने उनले बताए । ‘मान्छे मारेको जघन्य अपराध हो कि होइन ? एउटा विषय छ । अर्काे विशेष अदालतमा मुद्दा चलाउने कुरा गम्भीर छ,’ उनले भने, ‘यी विषयमा हाम्रो छलफल केन्द्रित हुन्छ । यो विधेयकलाई चाँडो निष्कर्ष पुर्याउनुपर्छ ।’ 

माओवादीका प्रमुख सचेतक देव गुरुङले समितिमा पठाउने अधिकार संसद्मा रहेको बताए । ‘समितिमा विस्तृत छलफल हुनुपर्छ भन्ने हाम्रो चासो हो । तर, पठाउने–नपठाउने संसद्ले निर्णय गर्छ,’ उनले भने । सोमबार सैद्धान्तिक छलफल भएको विधेयकमा संशोधन हाल्न ७२ घन्टा समय दिइएको छ । १७ भदौमा बस्ने बैठकमा छलफल गरेर समितिमा पठाउने निर्णय हुनेछ ।

पीडितमैत्री बनाउन माग 
प्रतिनिधिसभामा विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले पीडितमैत्री बनाउन माग गरे । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय र पीडितमैत्री हुनुपर्ने बताए ।

माओवादी सांसद यशोदा सुवेदी गुरुङले राज्यले अभिभावकत्व लिने विषय १६ वर्षसम्म अल्झिएको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताइन् । सांसद कृष्णभक्त पोखरेलले विशेष अदालतकै फैसला अन्तिम हुने, एक तह पुनरावेदनमा जान नसकिने कुरा सर्वमान्य न्यायको सिद्धान्तविपरीत रहेको बताए । यो विधेयकमा जबर्जस्ती नगरी समितिमा छलफलमा पठाउन माग गरे । कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संक्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुर्याउन फास्ट ट्र्याकमा विधेयक अगाडि बढाउनुपर्ने बताए । 

एमाले सांसद गोकुल बास्कोटाले पीडितहरूलाई थप पीडित बनाउने गरी विधेयक आएको भन्दै संशोधन हुनुपर्ने बताए । मानव अधिकारको प्रश्नमा बलात्कार बलात्कार नै र हत्या हत्या नै हुने उनको भनाइ छ । 

See More On

सुझावित समाचार