राष्ट्रिय सभामा रहेका सत्तागठबन्धनका प्रमुख सचेतक, सचेतक र सांसदहरूसँग गृहमन्त्री र कानुनमन्त्रीले नागरिकता विधेयकबारे छलफल गरेका छन्।
विधायन व्यवस्थापन समितिमा उक्त विधेयकमाथि छलफल हुनुअघि सोमबार बिहान १० बजे कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूसँग मन्त्रीद्वयले छलफल गरेका कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन्।
छलफलमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा चुनाव आइसकेकाले आज र भोलि छलफल गरेर १६ गतेको राष्ट्रिय सभामा पेस गर्ने गरी अघि बढ्न आग्रह गरेका थिए। राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र अन्य विषय पछि समेटिने भन्दै विधेयक अगाडि बढाउन उनले आग्रह गरेका हुन्। राष्ट्रिय सभाले आइतबार समितिमा विधेयक दफावार छलफलका लागि पठाएको थियो ।