तिलगंगा आँखा अस्पताललाई सहयोग गर्न तयार छु : अर्थमन्त्री

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

अर्थ मन्त्रालयले तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सहयोगको प्रतिबद्धता जनाएका हुन्। 


भेटमा डा. रुइत नेतृत्वको टोलीले गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएकाले अस्पतालको सेवा विस्तारका लागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको बताएका थिए। त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग मागेको थियो।


जवाफमा मन्त्री शर्माले भने, ‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदोरहेछ। नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो। हामी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला।’
भेटमा अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलबिन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लास्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको जानकारी रुइत नेतृत्वको टोलीले गराएको थियो। यसैगरी, विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेको बताएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए। 
 

सुझावित समाचार