अहिले गहना पसलमा विभिन्न नयाँ–नयाँ डिजाइनका सुनका गहना उपलब्ध छन् । तर, नेपाली बजारमा सुनको मूल्य उच्च भएकाले कम तौलका गहना ग्राहकको माग छ । तिज नेपाली महिला दिदिबहिनीहरूको विशेष चाड भएकाले सुनका गहना लगाउन खोज्छन् । माइली तिलहरी र छड्के तिलहरीको पुरानै डिजाइन छ । तिजमा माइली तिलहरी, छड्के तिलहरी, नवरत्नका हार, चन्द्र हार, रानी हार, सिक्का हार, मिनी हार, नौगेडी, सिक्रीलगायतका कम मूल्यका गहनामा ग्राहकको माग बढी छ ।
छड्के र माइली तिलहरी
अहिले गहना पसलमा छड्के तिलहरी पुरानै डिजाइनमा आधारित छ । विशेष गरी तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीकको रूपमा लिइन्छ । माइली तिलहरी हरियो र रातो पोतेमा उनेर बनाइन्छ । तीन आनादेखि आधा तोलासम्ममा आकार्षक डिजाइनको बनाउन सकिन्छ । मैले तिजका लागि चारदेखि ६ आनासम्मको तयार गरेको छु । छड्के तिलहरी पहिले डेढ तोलासम्म तयार हुन्थ्यो, तर अहिले ६ आनादेखि १० आनासम्म तयार गर्न सकिन्छ । यो कम मूल्यमा पनि तयार गर्न सकिन्छ । यो महिलाहरूले यसलाई बायाँ साइडबाट दायाँ छड्के गरी लगाउँछन् । तिलहरीलाई प्रायः हरियो र रातो रङको पोतेमा उनिएको हुन्छ ।
अधिकांशको रोजाइमा रानीहार
तिजमा महिलाहरू गरगहनामा सजिन चाहन्छन् । सुन पसलमा विभिन्न डिजाइनका नवरत्नका हार, चन्द्रहार, रानीहार, सिक्काहार, मिनीहार आदि लगाउने चलन छ । त्यससँगै नौगेडी, तिलहरी आदि पनि लगाउने चलन छ । हारका साथमा सुनका चुरा, इयररिङ, शिरबन्दी, शिरमा चन्द्रमा तथा फूलका क्लिपहरू पनि लगाइन्छ । अहिले नेपालमा कम मूल्यका हारका डिजाइनहरू तयार भएका छन् ।
अहिले दुई किसिमका हार प्रचलित छन् । रानी हार र मिनी हार कम मूल्यमा पनि आकर्षक बनाउन सकिन्छ । चारदेखि पाँच आनासम्म आकार्षक डिजाइनको रानी हार तयार गर्न सकिन्छ । यसमा सुनको मूल्यसँग ज्याला र जर्तीसहितको हिसाब गरेर मूल्य निर्धारण गरिएको हुन्छ । यदि बनाउन चाहेको खण्डमा सुन पसलमा गएर आफूले इच्छाएको डिजाइनमा हार बनाउन सकिन्छ । तपाईंसँग धेरै बजेट छ भने हार तीनदेखि चार तोलासम्म तयार गर्न सकिन्छ ।
सिक्री
तिजमा अविवाहित महिलाले पनि सिक्री लगाउने चलन आएको छ । विशेष गरी अविवाहित महिलाले लगाउने मेसिनबाट बनाइएको सिक्रिको माग बढी छ । यो सिक्री १५ हजारदेखि माथि तयार गर्न सकिन्छ । तिजमा अविवाहित महिलाले सिक्रीसँग औँठी, लकेट पनि लगाउने चलन छ ।