आइतबारबाट पार्किङका लागि खुला हुने
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । विभागले पार्किङलाई सेवाग्राही बस्ने ठाउँ बनाएपछि महानगरले उक्त स्थान शुक्रबार खाली गराएको हो ।
शुकबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा गएको नगर प्रहरीको टोलीले बेसमेन्ट खाली गराएको थियो । उक्त स्थानमा आइतबारदेखि सेवाग्राहीले पार्किङ गर्न पाउने व्यवस्था मिलाइएको राहदानी विभागले जनाएको छ । ‘आज हामीले राहदानी विभागको बेसमेन्ट खाली गराएको छौँ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘जुन प्रयोजनका लागि संरचना बनाइएको हो । त्यसबाहेक अन्य प्रयोजनका लागि प्रयोग हुन दिँदैनौँ ।’
महानगरले बिहीबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स, बुधबार सुन्धारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्समा बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको थियो । त्यसअघि ६ भदौमा बानेश्वर क्षेत्रमा अन्डरग्राउन्ड पार्किङमा सञ्चालित व्यवसाय हटाएर डोजर चलाएको थियो । नगर प्रहरी प्रमुख पाण्डेका अनुसार बिहीबार अल्फाबिटासँगै बानेश्वरबाट शंखमूल जाने सडकमा रहेको बर्गर हाउसमा पनि कारबाही गरिएको छ । त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करिब पाँच ठाउँमा पसल, रेस्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् ।
खाली गराएको ठाउँमा निरन्तर निगरानी

नगर प्रहरी प्रमुख पाण्डेका अनुसार खाली गरिएको ठाउँमा पुनः व्यापारिक प्रयोजन हुन नदिन महानगरले निगरानी बढाएको छ । ‘महानगरभित्र देखिएको पार्किङ समस्या समाधानका लागि हामीले यो कदम चालेका हौँ । हामीले खाली गराएको ठाउँलाई फेरि व्यापारिक प्रयोजनमा प्रयोग हुन नदिन निगरानी बढाएका छौँ । यसका लागि हामीलाई सबैको साथ र सहयोग छ,’ उनले भने ।
महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका दुई सय ७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरूमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो ।